यस्तो छ प्रधानमन्त्री देउवाले देशबासीको नाममा गरेको सम्बोधनको पूर्णपाठ
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संवाद र सहमतिको माध्यमबाट संसद् सुचारु गर्ने बताएका छन् । उनले संसद् सुचारु भएपछि सबै दलहरूसँग छलफलको माध्यमबाट सहमति जुटाएर नै विचाराधीन विषयहरूलाई निष्कर्षमा पुर्याउने बताए ।
आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिना पुगेको अवसरमा शुक्रबार टेलिभिजनमार्फत देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकार सही दिशामा अगाडि बढिरहेको दाबी गरेका छन् ।
उनले अघि भने, ‘सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट छ । छोटो अवधिमा गरिएको कार्य र हासिल भएको उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, स्थायित्व र समृद्धि हासिल गर्ने बलियो आधार खडा भएको छ । जनतामा आशा र भरोसा बढेको छ ।’ यद्यपि यसमै सन्तोष गरेर नबस्ने तथा विकास र समृद्धिको यात्रालाई थप गति दिने बताएका छन् ।
२९ असारमा प्रधानमन्त्री भएका देउवाले पहिलो पटक देशबासीको नाममा सम्बोधन गरेका हुन् । प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको जनाएका छन् ।
देउवाले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर वृद्धि हुने बताए । प्रधानमन्त्री देउवाले विद्युत् उत्पादनमा भएको वृद्धि, आर्थिक एवम् सामाजिक क्रियाकलापमा भएको सुधार, निर्यातमा भएको बढोत्तरी, उच्च कर्जा प्रवाह र आयातमा भएको बढोत्तरीले आर्थिक वृद्धिदर गत वर्षको भन्दा वृद्धि हुने अनुमान रहेको बताए ।
प्रधानमन्त्री देउवाले एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व आफू नेतृत्वको सरकारको काँधमा रहेको भन्दै निर्वाचन तयारीका काम गर्न सबै सरोकारवालालाई आग्रह गरे । उनले कोरोना महामारी सामना गर्नका लागि खोप नै प्रभावकारी माध्यम रहेको भनेर नै ६ महिना अघि आफूले सरकारको जिम्मेवारी सम्हाल्दा चैतसम्ममा खोप लगाउने योग्य सबैलाई खोप लगाउने प्रतिवद्धता जारी गरेको र अहिले पनि खोप अभियान जारी रहेको बताए ।
कोभिड रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय बनाइएको भन्दै उनले अर्थतन्त्र र सामाजिक कृयाकलामा सकेसम्म काम असर पर्नेगरी व्यवस्था मिलाइने जानकारीसमेत दिए ।
देउवाले आफ्नो ६ महिने कार्यकालमा १७७ किलोमिटर सडक कालोपत्रे भएको बताएका छन् । देउवाले आफ्नो सरकार बनेपछि भएका कामहरुको विवरण प्रस्तुत गरेका हुन् । उनले भनेका छन्, ‘संघको कार्यक्षेत्र अन्तरगत मुलुकभर १७७ किमी सडक कालोपत्रे भएको र २३ सडक पुल निर्माण भइ सञ्चालनमा आएका छन् ।’ ८२ झोलुङ्गे पुल निर्माण भएको र संघीय संसद भवन निर्माण सन्तोषजनक रुपमा भइरहेको उनले बताए ।
भैरहवा र पोखरा विमानस्थल निर्माण कार्य अन्तिम चरणमा पुगेको समेत उनले बताए । यस वर्षभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने काम भइरहेको समेत प्रधानमन्त्री देउवाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री देउवाले बजेट कार्यान्वयनका सन्दर्भमा संयुक्त सरकारले प्राथमिकतामा राखेर ल्याएको साझा न्यूनतम कार्यक्रमको आधारमा बजेटलाई पुनरावलोकन गरी स्वीकृति तथा कार्यान्वयनमा ल्याइएको बताए । उनका अनुसार चालु आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा पुस मसान्तसम्म ५ खर्ब ७६ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएको छ भने सरकारले ४ खर्ब ६ अर्ब ७८ करोड खर्च गरेको छ ।
प्रधानमन्त्री देउवाले संघीयता कार्यान्वयनलाई सुदृढ बनाउने लक्ष्यसहित सरकारले प्रदेश सरकारहरुलाई १ खर्ब ८९ अर्ब २४ करोड रुपैयाँ बित्तीय हस्तान्तरण गरेको बताए ।
हेर्नुहोस् सम्बोधनको पूर्णपाठः
प्रतिकृया दिनुहोस