सुपर दोर्दी ‘ख’ले आगामी असारदेखि विद्युत उत्पादन थाल्ने
काठमाडौँ । दोर्दीखोलामा पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाले असार ०७९ भित्र बिजुली उत्पादन गर्ने तयारी गरेको छ ।
आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भएको सुपरदोर्दी ‘ख’ का प्रोजेक्ट डाइरेक्टर अर्जुन गौतमले बताए । उनका अनुसार आयोजनाको विद्युत गृहको सिभिल संरचना पूरा गरी उपकरण जडान गरिरहेको छ ।
उनले यसै महिनाबाट विद्युत् उत्पादन गर्ने तयारी गरे पनि बाढी र कोरोना महामारीका कारण निर्माण प्रभावित हुँदा विद्युत् उत्पादन गर्ने मिति पछाडि धकेलिएको बताए । पछिल्लो तालिकाअनुसार आयोजनाको सबै काम पूरा गरेर असार ०७९ भित्र उत्पादन सुरू गर्ने लक्ष्य छ ।
गत असारमा आएको बाढी पहिरोले बाँध क्षेत्रको संरचना बगाएसँगै बाँध क्षेत्र पुनर्निर्माण भइरहेको छ । बाढीपहिरोले बाँध क्षेत्रसम्म पुग्ने पहुँच मार्ग समेत बगाएको थियो ।
यस्तै, एक हजार एक सय मिटर पेनस्टक पाइप जडान पनि भइरहेको छ । उपकरण जडान पूरा गरी आगामी जेठमा परीक्षण गर्ने लक्ष्य रहेको कम्पनीका प्रबन्ध निर्देशक केशव रायमाझीले बताए ।
सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत् दोर्दी कोरिडोर प्रसारण लाइनको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न गर्न आठ अर्ब ८० करोड लागत अनुमान गरिए पनि निर्माण अवधि लम्बिदा खर्च बढ्ने प्रोजेक्ट डाइरेक्टर गौतमले बताए ।
आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ वटा बैंकले पाँच अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनाको २०७२ सालमा विद्युत् खरिद सम्झौता (पीपीए) भएको हो ।
प्रतिकृया दिनुहोस