हिमाली क्षेत्रमा प्लास्टिकजन्य प्रदूषण बढ्दो   

1622422308

काठमाडौँ । पर्वतारोहणमा जाने आरोहीहरुले प्रयोग गर्ने प्लास्टिकजन्य वस्तुहरु र छिमेकी मुलुकहरुबाट हावाले उडाएर ल्याएका प्लास्टिकका कणहरुले गर्दा हिमाली क्षेत्रका हिउँ तथा पानीका स्रोतहरुमा माइक्रो प्लास्टिकका कणहरु पाइएबाट त्यसले जलवायु परिवर्तनको असर बढाउन मद्दत गरेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र सिफिेड, डोको रिसाइक्लियरर्स र ब्लु वेष्ट टू भ्यालु नामक संस्थाद्वारा संयुक्त रुपमा यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले केही वर्षयता नेपालमा प्लास्टिकजन्य सामग्रीको आयात तथा उत्पादनमा वृद्धि भएसँगै यसले वातावरणमा पारेका नकारात्मक असरका बारेमा अध्ययन अनुसन्धान गरी समाधानका उपयुक्त विकल्पहरुका बारेमा राज्यले उपयुक्त नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

प्लास्टिकजन्य प्रदूषणको समस्या विश्वव्यापीरुपमै बढ्दै गएको सन्दर्भमा आगामी फागुन १६ देखि १८ गतेसम्म केन्याको नैरोवीमा हुन गइरहेको संयुक्त राष्ट्रसङ्घीय वातावरण सम्मेलनमा छलफलका लागि प्रस्तुत हुने संयुक्त राष्ट्रसङ्घीय प्लास्टिक प्रदूषण महासन्धिको मस्यौदामा नेपालले हिमाली क्षेत्रमा प्लास्टिकको बढ्दो प्रदूषणको विषयलाई जोडदार रुपमा उठाउन पनि विज्ञहरुले सुझाव दिएका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले केही वर्षअघि सगरमाथाबाट सङ्कलन गरेको हिउँ र पानीको नमूनाको अध्ययनमा माइक्रो प्लास्टिकका कणहरु पाइएको तथ्यहरुले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको समस्या बढ्दै जानुको एक मुख्य कारण औँल्याएको थियो ।
 

प्रतिकृया दिनुहोस