एसिड पिडित मुस्कान खातुनलाई सरकारले तीन लाख सहयोग गर्ने, उखुको न्यूनतम खरिद मूल्य निर्धारण

यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

Dkfmkdmg1641462727

काठमाडौं । सरकारले एसिड आक्रमणबाट पीडित भएकी मुस्कान खातुनलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन् ।

यस्तै, सरकारले उखुको न्यूनतम खरिद मूल्य पनि तोकेको छ । प्रवक्ता कार्कीले प्रतिक्विन्टल उखुको मूल्य ५२० रुपैयाँ निर्धारण गर्नेलगायत निर्णय भएको बताए ।
 

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय :

१.राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई पुस २३ गतेबाट लागु हुने गरी मुख्य अनुसन्धान पदमा बढुवा गर्ने ।

२.आर्थिक वृद्धि तथा उत्पादनशिलताका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन १० बिलियन (करिब १० अर्ब ३९ करोड रुपैयाँ) ऋण सहायता स्वीकार गर्ने ।

३.आर्थिक वर्ष २०७८/७९ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ निर्धारण गर्ने ।

४.नेपाल विद्युत् प्राधिकरणका विभिन्न वितरण केन्द्र र प्रसारणलाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्न प्रारम्भिक अधिकार चलाउने अधिकारी तोक्ने ।

५.गृह मन्त्रालय लागुऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र सबै जिल्ला प्रशासनका शाखा प्रमुख जिल्ला अधिकारीहरूलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने ।

६.एसिड आक्रमणबाट पीडित मुस्कान खातुनलाई तीन लाख रुपैयाँ सहयोग रकम उपलब्ध गराउने ।

७.प्रहरी नवौँ संशोधन नियमवाली–२०७८ स्वीकृत गर्ने ।

८.निजगढको कोहल्वी ३३ किमि सबस्टेसन निर्माणका लागि दुई बिघा जग्गा नेपाल विद्युत् प्राधिकरणलाई लिजमा उपलब्ध गराउन स्वीकृति दिने ।

९.दार्चुला जिल्लामा महाकाली नदीमाथि नेपाल–भारत जोड्ने मोटरेवल पुलको निर्माण गर्न दुईपक्षीय सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने ।

१०.राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदमा सुरेन्द्र बस्नेत, दमक–१, झापालाई नियुक्त गर्ने ।

११.वन क्षेत्रमा कार्बन सञ्चितिको पहिचानसम्बन्धी अनुसन्धानका लागि रुख कटान गर्दा राष्ट्रिय प्राथामिकता प्राप्त र ठूला पूर्वाधार आयोजनाको क्षेत्राधिकारभित्र पर्ने रुख कटानलाई पहिलो प्राथामिकता दिने गरी आवश्यक रुखहरू कटानमुछान गर्न र नमुनाहरू प्रयोगशालासम्म ल्याउन स्वीकृति प्रदान गर्ने ।

१२.नेपाल राजपत्रको नियमित अंक हप्ताको दुईपटक सोमबार र बिहीबार प्रकाशन गर्न स्वीकृति दिने ।

१३.गोरखापत्र संस्थानलाई गोदाम भवन निर्माण गर्नका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने ।

१४.राजपत्रांकित प्रथम श्रेणीका सहसचिव कृष्णबहादुर राउतलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...