राजनीतिक संयन्त्रले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन भूमिका खेल्ने
काठमाडौं । सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ ।
बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिलसमेत गरेको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते हुँदै छ । त्यसका लागि सात वटै प्रदेशमा सत्ता गठबन्धनले समन्वय समिति गठन गरेको छ ।
बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको शुभकामना समेत दिएको छ । यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने संयन्त्रले विश्वास व्यक्त गरेको पनि कार्कीले बताए ।
बिहान नौ बजेदेखि बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण, राष्ट्रिय सभा निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल भएको बताइएको छ ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको समितिमा समितिमा सत्तारुढ पाँच दलका शीर्ष नेताहरू सदस्य छन् । कांग्रेसबाट नेता पौडेल र कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल छन् ।
प्रतिकृया दिनुहोस