सार्कको विकल्पमा बिमिस्टेक सक्रिय होला ?
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमिस्टेक)का महासचिव तेन्जिङ लेकफेल तीनदेखि नेपाल भ्रमणमा छन् ।
उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्चपदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरे । उनले परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुषाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटेर बिमिस्टेकलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरे । सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा उनको भ्रमण केन्द्रित देखिन्छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) प्रायः निष्क्रिय भएको समयमा बिमिस्टेक सक्रिय हुनुपर्ने विश्लेषणसमेत भइरहेको छ । भारतले पाकिस्तानबिनाको क्षेत्रीय संगठन बिमिस्टेकलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । सन् २०१४ मा नेपालमा १८औं सार्क शिखर सम्मेलन भएपछि सार्क सम्मेलन हुन सकेको छैन ।
पाकिस्तानले नवौं शिखर सम्मेलन गर्नुपर्ने थियो । तर, सो शिखर सम्मेलन भारत र पाकिस्तानको द्वन्द्वका कारण तत्काल हुने सम्भावना पनि छैन । ३७ वर्षको इतिहास बोकेको सार्कको औचित्य अन्योल बन्दै गएकाले क्षेत्रीय संगठनको आवश्यकता बिमिस्टेकबाट पूरा गर्न नेपालले पनि सक्रियता देखाउनुपर्ने महसुस गरेरै बिमिस्टेकलाई रचनात्मक रूपमा योगदान गर्ने प्रतिबद्धता जनाएको हो ।
सार्क ८ डिसेम्बर १९८५ मा स्थापना भएको हो । सात राष्ट्र रहेकोमा अफगानिस्तान पछि थपियो । सन् २०१४ मा नेपालमा शिखर सम्मेलन भएपछि कोभिड–१९ को महामारीको समयमा नेपालको अध्यक्षतामा सार्कस्तरीय केही मन्त्रीस्तरीय बैठक भर्चुअल रूपमा भने बसेको थियो ।
नेपालले १९औं सार्क शिखर सम्मेलनका लागि मध्यस्थकर्ताका रूपमा विभिन्न प्रयास गरेर पनि सफलता प्राप्त हुन सकेन । त्यसैले विश्वकै उच्च जनघनत्व भएको क्षेत्रमध्ये रहेको दक्षिण एसियाका लागि क्षेत्रीय साझेदारीका रूपमा बिमिस्टेकलाई नै भए पनि अगाडि बढाउन नेपालले पनि पहल गर्नुपर्ने विज्ञहरूको राय छ ।
जलवायु परितर्वन, बहुराष्ट्रिय अपराध, प्राकृतिक प्रकोपलगायतका समस्यासँग एक्लै लड्न नसकिने भएकाले क्षेत्रीय संगठनको आवश्यकता महसुस गरिएको भए पनि दक्षिण एसियाली क्षेत्रमा ती प्रभावकारी हुन सकेका छैनन् ।
२०७५ भदौमा काठमाडौंमा बिमिस्टेकको चौथो सम्मेलन भएको थियो । पाँचौं सम्मेलन श्रीलंकाले सन् २०२२ मा आयोजना गर्दै छ । काठमाडौं सम्मेलनमा विद्युत् लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमिस्टेक ग्रिड इन्टरकनेक्सन)को सहमतिपत्र हस्ताक्षर भएको थियो । त्यसपछि बिमिस्टेक पनि प्रभावकारी भएको छैन । भारतको अगुवाइमा बिमिस्टेक स्थापना भएको हो । सन् १९९७ मा स्थापना भएको भए पनि यसको अहिलेसम्म चारवटा मात्र शिखर सम्मेलन भएको छ ।
नेपाल, भारत, बंगलादेश, म्यानमार, श्रीलंका र थाइल्यान्ड यसका सदस्य छन् । नेपाल र भुटानले भने सन् २००४ मा मात्रै बिमिस्टेकका पूर्ण सदस्यता लिएका हुन् । प्रत्येक दुई वर्षमा शिखर सम्मेलन गर्ने उल्लेख छ । चौथो शिखर सम्मेलनपछि २०२० मा पाँचौं शिखर सम्मेलन गर्नुपर्नेमा कोरोना महामारीका कारण रोकिएको थियो ।
पछिल्लो समय भारतले सार्क निष्क्रिय गराउँदै बिमिस्टेकलाई सक्रिय बनाउने संकेत देखाएको थियो । भारतले पनि सार्कको विकल्पमा बिमिस्टेक अगाडि बढाउन खोजेको कुरा विज्ञहरू स्विर्काछन् । नेपाल जस्तो देशका लागि सार्क र विमस्टेक जुन सक्रिय भए पनि केही फरक नपर्ने विज्ञहरु बताउँछन्, तर क्षेत्रीय संगठन प्रभावकारी हुनुपर्नेमा वकालत गर्दछन् ।
नेपालले भने सार्कको विकल्पमा बिमिस्टेकलाई नलिएको बताउँदै आएको छ । सार्कको छुट्टै महत्व रहेको नेपालको भनाइ छ । सार्क भने भारत र पाकिस्तानको द्वन्द्वको छायाका कारण कमजोर बन्दै गएको छ ।
पाकिस्तानलाई एक्ल्याउनका लागि पनि भारतले बिमिस्टेकलाई अगाडि सार्न खोजेको चर्चा छ । तर, सार्क र बिमिस्टेक दुवैले अपेक्षाकृत गति भने समात्न सकेका छैनन् । बिमिस्टेकमा पनि भारत र थाइल्यान्डको प्रभाव हुने देखिन्छ । यसको सन्तुलन हुन सकेन भने यो पनि सक्रिय हुन सक्दैन कि भन्ने चिन्ता विज्ञहरू गर्छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।
प्रतिकृया दिनुहोस