३३ किलो सुन तस्करीमा संलग्न ‘गोरे’का भाइ विमानस्थलबाट पक्राउ
३३ किलो सुन तस्करीका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’को भाइलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
मंगलबार दुवईबाट एयर अरेबियाको विमानमार्फत काठमाडौं ओर्लिएका रमेश उप्रेतीलाई पक्राउ गरिएको हो । मोरङको उर्लाबारी नगरपालिका–७ घर भई दुबई बस्दै आएका रमेश ३३ किलो सुन तस्करी मुद्दामा फरार थिए ।
२०७४ साल माघ अन्तिम साता युएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्र्याइएको भनिएको तस्करीको साढे ३३ किलो सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको बताइएको थियो ।
उक्त सुन बोक्ने भनिएका मोरङको उर्लाबारीका सनम शाक्यको हत्या भएपछि उक्त प्रकरणमा दर्जनौँ मानिसहरूको संलग्नता देखिएको प्रहरीले दाबी गरेको थियो ।
सङ्गठित रूपमा सुनको अवैध चोरी निकासी, पैठारी र अपहरण तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोपमा तत्कालीन सात जना बहालवाला प्रहरी अधिकारीसहित ७७ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो ।
उक्त प्रकरणमा मुछिएका नेपाल प्रहरीका उच्च अधिकारीसहित सबै प्रहरीलाई भने अदालतले सफाइ दिएको देखिएको थियो । सफाइ पाउनेहरूमा पूर्व एआइजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी दिवेश लोहनी, श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक विकासराज खनाल लगायत ९ जना थिए । सुन तस्करीमा उनीहरूको पनि मिलेमतो देखिएको भन्दै मुद्दा दायर गरिएको थियो ।
साढे ३३ केजी सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले मुख्य आरोपी चूडामणि उप्रेती ुगोरेु सहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
मुद्दाको मुख्य प्रतिवादी उर्लाबारी मोरङका गोरे भनिने चुडामणी उप्रेतीसहित ७७ जना थिए । उनीहरु विरुद्ध मोरङ प्रहरीले २०७५ वैशाख १९ गते अपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरिर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोग पत्र दर्ता गरेको थियो । अभियोग पत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग गरिएको थियो ।
कूल प्रतिवादी मध्ये २१ जना अहिले पनि फरार छन् । फरारका नाममा इजलासले मुद्दालाई मुलतबीमा राखेको राणाले बताए । त्यसबाहेका बाँकी प्रतिवादीको कुनै पनि कसुर पुष्टि नभएकाले इजलसले सफाइ दिएको थियो ।
प्रतिकृया दिनुहोस