म्याग्दी हिउँ पहिरोमा बेपत्ता छन्त्याल अझै सम्पर्क विहीन
म्याग्दी । गएको बुधवार वर्षासँगै आएको हिउँमा परेर बेपत्ता भएका रामबहादुर छन्त्याल अहिलेसम्म भेटिएका छैनन् । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–१, गुर्जाको जङ्गलमा हिउँमा परेर बेपत्ता स्थानीय ५० वर्षीय छन्त्याल अहिलेसम्म नभेटिएका धवलागिरि गाउँपालिकाले जनाएको छ ।
गुर्जाको सुकेलट्टे भन्ने ठाउँमा हिउँमा परेर ५० वर्षीय छन्त्याल बेपत्ता भएका थिए भने स्थानीय जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसेर अलपत्र परेका थिए। गएको बिहीवार नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत गुर्जा गाउँबाट चार जना स्थानीयलाई लगेर अलपत्र परेका तीन जनालाई उनीहरुको सहयोगमा सुरक्षित ठाउँमा राखिएको थियो ।
शुक्रवारदेखि बेपत्ता छन्त्यालको खोजीकार्य थालिएको भए पनि अहिलेसम्म उनको अवस्था पत्ता लाग्न नसकेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिए । बाक्लो हिमपातका कारण अलपत्र परेका तथा मानव बस्तीभन्दा धेरै टाढाको जङ्गलमा रहेको भेडीगोठमा बस्दै आएका स्थानीयलाई सेनाको हेलिकप्टरबाट खाद्यान्न सामग्री लगिएको थियो ।
हेलिकप्टरबाट गएका चार जना र अलपत्र तीन जना स्थानीय अहिले गाउँ फर्किएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । बेपत्ता छन्त्यालको खोजी गर्नका लागि दैनिकजसो १०/१२ जनादेखि २०/२५ जनाले जङ्गलमा पुगेर खोजी गर्दै आएका छन् ।
हिउँ नपग्लिँदा खोजी कार्यमा समस्या भएको छ भने गुर्जा गाउँमा तीनरचार फिटसम्म हिउँ जमेको थियो । जङ्गलमा अझै बाक्लो हिउँ जमेका कारण खोजीमा समस्या भइरहेको वडाध्यक्ष छन्त्यालले बताए ।
प्रतिकृया दिनुहोस