जनतालाई आश्वासन बाँडेर झुक्याउने धेरै भए, अब म काम गरेपछि मात्रै बोल्छु : मन्त्री झाँक्री
काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाक्रीले आफूले काम गरेपछि मात्र बोल्ने बताएकी छिन् । गुल्मीको धुर्कोटस्थित धुर माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोह कार्यक्रममा मन्त्री झाक्रीले केही नेताहरूले आश्वासन बाँडेर काम नगरेको भन्दै आफूले काम गरेपछि मात्र बोल्ने बताइन् ।
‘अहिले म गर्न नसक्ने योजना बाँड्दै हिड्न चाहान्न,’ उनले भनिन्, ‘हिजो कसैले बोलेर जनताहरूलाई झुक्याएर काम नभएको उदाहरण भएकाले म काम गरेपछि मात्रै बोल्छु ।’
फरक प्रसङ्गमा मन्त्री झाक्रीले धुर्कोटको शिक्षा लगायत अन्य विकासका काममा आफूले हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरिन् । शिक्षा नीति परिवर्तनको आवश्यकता औंल्याउँदै उनले विद्यालयको संरचनाभन्दा पनि कक्षाकोठाको सिकाइ, पढनपाठनको विषय महत्त्वपूर्ण रहेको बताइन् ।
विद्यार्थीहरूको भोलिको शिक्षा कस्तो हुन्छ भन्ने कुराको ग्यारेन्टी कक्षाकोठाको सिकाइले नै गर्ने भएकाले शिक्षकहरूले सिकाइमा विशेष ध्यान दिन पनि मन्त्री झाक्रीले निर्देशन दिइन् ।
सरकारी विद्यालयहरूमा देशभर नै शिक्षकको दरवन्दी अभाव रहेको भन्दै उनले त्यसको व्यवस्थापनमा सरकार लागेको जानकारी दिइन् । मन्त्री झाँक्रीले विद्यालयको नवनिर्मित ४ कोठे भवनको समेत उद्घाटन गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस