सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले संगठित ठगीको आरोपमा पक्राउ परेका व्यवसायी तथा पूर्वसांसद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
बुधबार थुनछेक बहसपछि अदालतले उक्त आदेश दिएको हो । तामाङविरुद्ध एक हजार ४९९ जनाले किटानी जाहेरी दिएका थिए । मुद्दाको अन्तिम टुंगो नलागेसम्म तामाङ थुनामै रहने छन् ।
तर उनले जिल्ला अदालतको आदेशलाई पाटन उच्च अदालतमा चुनौती दिनसक्ने कानुनी व्यवस्था छ । तामाङ, उनकी पत्नी र छोरीसहित ४२ जनाविरुद्ध ठगी मुद्दा दायर भएको थियो ।
सिभिल सहकारीको रकम अपचलन गरेको तथा निक्षेपकर्ताको रकम फिर्ता नगरेको भन्दै परेको उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले लामो अनुसन्धान गरी जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराध कसुरमा मुद्दा दायर गरेको थियो ।
सिभिल सहकारी ठगी प्रकरणमा पक्राउ परेका तामाङ नेकपा (एमाले) का पूर्वसांसद समेत हुन् । सिआइबीले सिभिल सेभिङ एण्ड क्रेडिट को अपरेटिभ सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष इच्छाराज तामाङसहित ४२ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतले सञ्चालक समिति अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि थुनामा पठाउन आदेश दिएको छ । ९ जनालाई धरौटी र एक जनालाई साधारण तारेखमा छाड्न आदेश भएको छ ।
सिंहका अनुसार पूर्वलेखासमिति सदस्य हरिहर लामिछानेलाई ५० लाख, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाहलाई १५ लाख, जुनियर असिस्टेन्ट म्यानेजर एलिना तुलाधारलाई ५ लाख, मायोनानी महर्जनलाई ५ लाख र सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंहलाई १० लाख रुपैयाँ धरौटी मागिएको छ ।
जुनियर अधिकृत शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, लेखा अधिकृत राकेश महर्जनलाई ५० हजार, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङलाई ५ लाख, कौस्तुभ केतन ढुंगानालाई ५ लाख र असिस्टेन्ट संगीत श्रेष्ठलाई साधारण तारेखमा छाड्न आदेश भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले तामाङले ठगी गरेको निष्कर्षसहित ५ अर्ब ६७ करोड बिगो माग दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । त्यही प्रतिवेदनका आधारमा दायर मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो ।
प्रतिकृया दिनुहोस