देशभर बढ्यो जाडो, उपत्यका आसपासमै हिउँ पर्न सक्ने
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली हुँदा देशभर चिसो बढेको छ । पश्चिमतर्फबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले देशभर फैलिएको छ ।
जुम्ला, ताप्लेजुङ, जिरी र जोमसोम आदि क्षेत्रमा अहिले तापक्रम माइनसमा गएको महाशाखाले जनाएको छ । देशको पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
उक्त प्रणालीको कारणले उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुनुका साथै पहाड र तराई-मधेसका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो हिउँदमा देशका अधिकांश भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी र न्यूनतम तापक्रम सरदर एवं सरदरभन्दा बढी हुने पूर्वानुमान गरिएको छ ।
आज साँझ पौने ६ बजे मौसम पूर्वानुमान महाशाखाले गरेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १५ डिग्री सेल्सियस छ । आज बिहान पौने ९ बजेको रेकर्डमा न्यूनतम तापक्रम ३।६ डिग्री सेल्सियस छ । रातिदेखि तापक्रम अझै घट्ने अनुमान मौसमविदको छ ।
पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको अवस्थामा देशभरि चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ ।
महाशाखाका मौसमविद गंगा नगरकोटीले काठमाडौं उपत्यका वरपरका अग्ला स्थानमा पनि हिउँ पर्नसक्ने बताइन् । उनले भनिन्, ‘हल्का हिउँ पर्ने’ पूर्वानुमान गरिएको बताए । ‘मनाङ, डोल्पा, हुम्लातिर हिमपात भइराख्या छ । पहाडी भूभागमा हल्का वर्षा छ । तराईतिर बादल र हुस्सु कुहिरोको अवस्था छ ।’
मौसमविदका अनुसार बादल लागेको बेला अधिकतम तापक्रम र घाम लागेको बेला न्यूनतम तापक्रम घट्ने हुँदा जाडो बढ्छ । रातिदेखि जाडो झन् बढ्ने पूर्वानुमान मौसमविद पौडेलले गरे ।
पश्चिमी न्यून चापीय प्रणाली नेपालको पश्चिम क्षेत्रबाट सोमबार प्रवेश गरेको थियो । यो प्रणालीको प्रभाव मध्य क्षेत्र हुँदै क्रमशः देशको पूर्वी भूभागसम्म फैलिएको छ । यसैको कारण अहिले देशभर बादल लागेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागहरुमा हल्का वर्षासँगै हिमपात भइरहेको छ । यस्तो अवस्था बिहीबारबाट क्रमशः कम हुँदै जाने अनुमान मौसमविदले गरेका छन् ।
प्रतिकृया दिनुहोस