अझैं ३ दिन हिमपात हुने, चिसो बढ्ने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी दिनमा पहाडी र हिमाली भेगमा वर्षा, हिमपात हुने र चिसो ह्वात्तै बढ्ने भएकाले सतर्कता अपनाउन अपिल गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले यस्तो अपिल गरेको हो ।
महाशाखाले आइतबारदेखि बदली सुरु भई पश्चिम नेपालबाट पश्चिमी न्यून चापीय प्रणाली भित्रिएको जानकारी दिएको छ । जसका कारण आइतबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको अवस्था सिर्जना भएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर फैलने क्रममा रहेकाले देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ । राति पहाडी तथा हिमाली भूभागमा सामान्य देखि पूर्णतया बदली र तराइका भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
मंगलबार र बुधबार सो प्रणालीले देशभर फैलिई सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने महाशाखाले आँकलन गरेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
सो प्रणाली बिहीबारदेखि क्रमिक रुपमा कमजोर बन्दै जाने सम्भावना छ ।
प्रतिकृया दिनुहोस