कतारले बढायो विदेशी श्रमिकको तलब, अब कम्तीमा १८ सय रियल दिने
काठमाडौँ । कतार सरकारले विदेशी श्रमिकको तलब वृद्धि गरेको छ । कतार सरकारले एक हजार रियालभन्दा कम पारिश्रमिक भएका आप्रवासी श्रमिकको पारिश्रमिकमा एक हजार रियालले वृद्धि गरेको हो ।
नेपालस्थित कतारी दूतावासले सार्वजनिक गरेको प्रतिवेदनमा प्रतिमहिना एक हजार रियाल अर्थात् ३० हजार रुपैयाँभन्दा कम आम्दानी भएका श्रमिकको तलब एक हजार ८०० रियाल अर्थात् ५० हजार रुपैयाँभन्दा बढी पुगेको जनाइएको छ ।
दूतावासका अनुसार अब खान‚ बस्नको राम्रो व्यवस्था भएका कम्पनीले महिनावारी एक हजार रियल तलब दिनुपर्ने र यस्तो व्यवस्था नभएका रोजगारदाताले मासिक एक हजार ८०० रियाल दिनै पर्ने बाध्यकारी व्यवस्था लागू गरेको छ । यसले कतारमा रहेका लगभग एक हजार रियालभन्दा कम पारिश्रमिक लिएर काम गरिरहेका एक लाखभन्दा बढी नेपालीले लाभ लिनेछन् ।
कतारको श्रम मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नयाँ तलबमान व्यवस्था लागू भएपछि एक हजार रियालभन्दा कम पारिश्रमिक पाइरहेका तीन लाख आठ हजार १४६ जनाले एक हजार ८०० रियाल पारिश्रमिक पाउन थालेका छन् ।
आगामि वर्ष २०२२ को नोभेम्बर-डिसेम्बरमा हुने विश्वकपको लागि कतारले अप्रिल २०१८ देखि नै आईएलओको कार्यालय दोहामा राख्न दिएर सँगै काम गर्न थालेको छ । आईएलओसँगको सहकार्यपछि कतार सरकार आप्रवासी कामदारको हकमा गल्फ राज्य मध्येकै सुधारवादी राज्य बन्न सफल भएको त्यहाँको श्रम मन्त्रालयको दाबी गरेको छ ।
यस्तै घरेलु कामदारलाई अन्य कामदार झैं व्यवहार गर्ने, सेवा सुविधा प्रदान गर्ने, आराम तथा बसोवासको व्यवस्था गर्ने लगायत उनीहरूलाई काम चित्त नबुझेको खण्डमा रोजगारदाता परिवर्तन गर्न सक्ने अधिकार कतार सरकारले प्रदान गरेको छ ।
कतारी श्रम कानूनले तय गरेका अधिकार प्रयोग गरेर श्रम मन्त्रालयले गुनासो टिपाउनका लागि छुट्टै हटलाइनको व्यवस्था गरेको छ भने काम नै गर्न नसक्ने अवस्थामा रहेकाहरूका लागि सेल्टरको पनि व्यवस्था गरिएको बताइएको छ ।
कतार सरकार पछिल्लो समय नेपालबाट घरेलु श्रमिक लैजाने योजनामा छ । कतारमै झण्डै चार लाख नेपाली घरेलु कामदारसहित विभिन्न क्षेत्रमा कार्यरत छन् ।
प्रतिकृया दिनुहोस