बालुवाटार जग्गा प्रकरण : मुख्य आरोपी रामकुमार सुवेदी पक्राउ
अदालतद्धारा दुवैलाई ५ दिन थुनामा राख्न अनुमति
काठमाडौं । ललिता निवासको जग्गामा हिनामिना प्रकरणका मुख्य आरोपी रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य आरोपित सुवेदी र उनकी पत्नी माधवी मंगलबार राति स्यम्भूबाट पक्राउ परेका थिए ।
पक्राउ परेका सुवेदी ललिता निवास जग्गा हिनामिना प्रकरणका मुख्य योजनाकारु हुन् । सीआईबीले बुधबार बिहान सरकारी कार्यालय खुले लगत्तै म्याद थपका लागि जिल्ला काठमाडौंमा उपस्थित गराएको थियो । त्यसपछि अदालतले दुवै जनालाई पाँच दिन थुनामा राख्न अनुमति दिएको सीआईबीले जनाएको छ ।
सुवेदी वि.सं २०५० सालअघि लेखनदासका रूपमा चिनिन्थे । त्यही क्रममा पञ्चायतकालमै सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको ललिता निवासको जग्गा तत्कालीन भोगाधिकारी रहेका सुवर्णशम्शेरका नातेदारसँग मिलेर व्यक्तिको नाममा ल्याउन सुवेदी बिचौलियाको भूमिका खेलेका थिए । त्यसपछि तत्कालीन भोगाधिकारीसँगै मिलेर सरकारी जग्गा व्यक्तिको नाममा ल्याएपछि सस्तोमा खरिद गरी प्लटिङ गरेका थिए ।
२०४९, २०६२, २०६६ /६७ र २०६९ गरी चारवटा सरकारका पालामा करिब १३६ रोपनीभन्दा बढी जग्गा हडपिएको सीआईबीको अनुसन्धानबाट खुलेको छ । अहिले पनि सुवेदी र उनकी पत्नी माधवी भाटभाटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, अर्का बिचौलिया शोभाकान्त ढकालसहित दर्जनौं व्यक्तिका नाममा जग्गा छ ।
हडपिएको १ सय ३६ रोपनी १४ आना २ पैसा जग्गामध्ये हाल ७४ जना व्यक्ति र ५ संस्थाका नाममा ४ सय २८ कित्तामा १ सय २६ रोपनी ३ आना २ पैसा १ दाम जग्गा रहेको छ । उक्त जग्गा व्यक्तिका नाममा पुर्याउने करिब ४ सय आरोपितमाथि किर्तेमा मुद्दा चलाउनुपर्ने सीआईबीको निष्कर्ष छ ।
सीआईबीको अनुसन्धान प्रतिवेदनमा ‘जग्गा प्राप्ति ऐन २०१८ बमोजिम सरोकारवालालाई उचित क्षतिपूिर्त दिई तत्कालीन सरकारले अधिग्रहण गरेको जग्गा विभिन्न व्यक्तिको मिलेमतोमा कानुनविपरीत मन्त्रिपरिषद्समेतमा गलत तथा झूटो प्रस्ताव पेस गरी प्रस्तावउपर भएका निर्णयहरूको दुरुपयोग तथा अपव्याख्या र निर्णयविपरीत व्यक्तिविशेषका नाममा सरकारी जग्गा दर्ता गरी कुल १ सय ३६ रोपनी १४ आना २ दाम जग्गा हानि–नोक्सानी गरेकाले उक्त जग्गा नेपाल सरकारका नाममा ल्याउनुपर्ने’ भनिएको छ ।
प्रतिकृया दिनुहोस