एमालेले सबै प्रदेश र जिल्ला अधिवेसन एकै दिन गर्ने
काठमाडौं । नेकपा (एमाले) ले फागुन मसान्तभित्र सबै जनवर्गीय सङ्गठनको महाधिवेशन सक्न निर्देशन दिएको छ । एमालेको भक्तपुरमा जारी रहेको दोस्रो केन्द्रीय कमिटी बैठकले फागुन मसान्तभित्र सबै जनवर्गीय सङ्गठनको महाधिवेशन र राष्ट्रिय सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको हो ।
महाधिवेशन पश्चात् पार्टी नीतिगत रूपमा थप स्पष्ट र सही ढङ्गले दिशानिर्देशित भएको निष्कर्ष निकाल्दै अब सङ्गठनात्मक रूपमा थप सुदृढ र व्यवस्थित भएको निष्कर्ष निकालेको छ ।
सो बैठकले पुस महिनामा आवश्यक तयारी गरेर माघ र फागुन महिनामा पार्टी विस्तार र पार्टी प्रवेश अभियान सञ्चालन गरिने बैठकले निर्णय गरेको छ । आगामी पुस २३ गते जिल्ला अधिवेशन एकै साथ र माघ ८ गते सबै प्रदेश कमिटीको अधिवेशन एकै साथ सम्पन्न गर्ने निर्णय गरेको छ ।
विधानमा आवश्यक सम्पादन गर्न र पार्टीको नियमावली संशोधन गर्नका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेल, केन्द्रीय सदस्य खगराज अधिकारी र रमेश बडाल रहेको कार्यदल बनाइएको छ । कार्यदलले एक हप्ताभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ । बैठकले बैठक सञ्चालनसम्बन्धी कार्यविधि पारित गरेको छ ।
बैठकमा सपथ ग्रहण छुटेका केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराइएको छ । यस्तै बैठकले पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहरालाई चयन गरेको छ ।
प्रतिकृया दिनुहोस