प्रविधिको प्रयोगमा जुट्यो माओवादी, सबै प्रदेशमा एकैसाथ अधिवेसनको उद्घाटन
काठमाडौं । प्रविधिको प्रयोग गरेर नेकपा माओवादी केन्द्रले आज सात प्रदेश र दुईवटा गैरभौगोलिक प्रदेशको सम्मेलन एकैपटक आयोजना गरेको छ ।
काठमाडौँमा कलाकारले गीत तथा नृत्य प्रस्तुत गर्दा धनगढीमा भेला भएका माओवादीका नेता तथा कार्यकर्ता उत्साहित हुन्थे भने कर्णाली प्रदेशका कलाकारले आफ्नो प्रस्तुति दिँदा कास्कीमा भेला भएका कार्यकर्ताले ताली बजाएर स्वागत गर्थे । संसारभर नै कोरोना कहरले नकारात्मक प्रभावका अलावा सकारात्म्क प्रभाव पनि पारेको छ । माओवादीको प्रदेश सम्मेलनलाई एकै स्थानमा जोड्न युवा नेता रामप्रसाद सापकोटाले विशेष पहल गरेका थिए ।
नेता सापकोटाका अनुसार यसअघि माओवादीको सहायक सङ्गठन वाइसीएल नेपालको सम्मेलनमा पनि यस्तै प्रविधिको प्रयोग गरिएको थियो । भर्चुअल कन्फेरेन्स प्रविधिबाट माओवादीका १२ हजार बढी नेता तथा कार्यकर्ता एकै ठाउँमा जोडिएको पनि यो पहिलो पटक हो । नेपालका अन्य राजनीतिक दलले हालसम्म यस्तो प्रविधिको उपयोग नगरेको र माओवादीले नै पहिलोपटक नौवटा प्वाइन्टमार्फत देशैभर जोडिएको नेता सापकोटाको भनाइ छ ।
राष्ट्रिय सम्मेलनमा समेत कमै मात्र नेता तथा कार्यकर्ता सहभागी गराउने माओवादीको तयारी छ । वडा सम्मेलन, पालिका सम्मेलन हुँदै निर्वाचित भएका आएका झण्डै १२ हजार नेता तथा कार्यकर्तालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरे । प्रदेश सदरमुमकामहरूमा भेला भएका नेता तथा कार्यकर्तालको यो स्तरको जमघटसमेत इतिहासमै पहिलोपटक भएको नेता सापकोटाको भनाइ छ ।
विराटनगर, जनकपुर, कास्की, सुर्खेत, दाङ पनि एकै ठाउँमा समेटिन आए । सङ्घीय राजधानीमा नै तीनवटा प्रदेशका सम्मेलन आयोजना गरियो । गैरभौगोलिकतर्फका विशेष र सम्पर्क समन्वय प्रदेश तथा बागमती प्रदेशको सम्मेलन काठमाडौँमा आयोजना गरिएको माओवादीले जनाएको छ । माओवादीले तय गरेको सङ्गठन संरचनामा १० प्रदेश छन् । प्रवास प्रदेशको भने आज सम्मेलन हुन सकेन ।
पहिलोपटक माओवादी सङ्गठनलाई थप सुदृढ र परिस्कृत बनाउने लक्ष्यका साथ वडा सम्मेलन हुँदै प्रदेश सम्मेलनसम्म आइपुगेको छ । आगामी पुसको ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरेको छ । पहिलोपटक माओवादीले पार्टीमा निर्वाचन प्रणालीलाई अख्तियार गरेको छ । पार्टीमा देखिएको विचारको अलमललाई पनि राष्ट्रिय सम्मेलनमार्फत हल गर्ने लक्ष्य राखिएको छ ।
प्रदेश सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् । प्रदेशमा नं १ मा २५९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम १७५ सदस्यीय हुने व्यवस्था गरिएको छ ।
माओवादीले यसअघि यही मङ्सिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो । राष्ट्रिय सम्मेलनमार्फत माओवादीले आगामी कार्यदिशा निर्माण गर्ने बताएको छ । माओवादीले प्रदेश समितिमा महिलाको प्रतिनिधित्व कम्तीमा ३५ प्रतिशत र २० प्रतिशत युवाको प्रतिनिधित्व पहिलोपटक सुनिश्चित गरेको छ ।
आगामी पुसमा आयोजना गरिएको राष्ट्रिय सम्मेलनमा देशभरबाट एक हजार ५०० प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनमा सहभागी हुन प्रत्येक प्रदेशबाट न्यूनतम ३० जनाका दरले करिब ३०० प्रतिनिधि छनोट हुने व्यवस्था गरिएको छ । बाँकी प्रतिनिधि केन्द्रीय सदस्य, सल्लाहकार परिषद्, राष्ट्रिय परिषद र विभिन्न आयोगबाट सहभागी हुनेछन् ।
माओवादी केन्द्रको केही दिनअघिको स्थायी समिति बैठकले एक हजार ५०० सङ्गठित सदस्य बराबर एक जना प्रतिनिधि चयन गर्ने निर्णय गरेको थियो । केन्द्रीय सदस्य, सल्लाहकार परिषद्, राष्ट्रिय परिषद् सदस्य, अनुशासन, निर्वाचन र लेखा आयोगका सदस्य सम्मेलनका प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।
सम्मेलनले नयाँ नेतृत्वसहित राजनीतिक र वैचारिक विषय टुङ्गो लगाउने तयारी गरिएको छ । प्रत्येक प्रदेशले कम्तीमा एक जना घाइते अपाङ्गता भएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मेलनको प्रतिनिधि अनिवार्य चयन गर्नुपर्नेछ । त्यसैगरी केन्द्रीय कार्यालयबाट पाँच प्रतिशत मनोनितसहित केन्द्रीय विभागबाट ३३ जना प्रतिनिधि हुनेछन् ।
प्रतिकृया दिनुहोस