पौडेल समुहबाट शेखर कोइरालाले दिने भए सभापतिको उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत चुनावमा रामचन्द्र पौडेल पक्षले सभापति पदका लागि शेखर कोइरालालाई उम्मेदवार बनाएको छ । पौडेल पक्षको शनिबार बसेको बैठकले कोइरालालाई आधिकारिक उम्मेदवारको रुपमा टुंगो लगाएको हो ।
नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाको टिमबाट डा. मिनेन्द्र रिजाल र गगनकुमार थापा महामन्त्रीको उम्मेदवार बन्ने भएका छन् ।
रामचन्द्र पौडेल सभापतिको उम्मेदवार नबन्ने भएपछि यो समूहका नेताहरुले शेखर कोइरालाको नेतृत्वमा टिम बनाएको छ । महामन्त्रीमा विश्वप्रकाश शर्मालाई ल्याएर डा. रिजाललाई उपसभापतिमा लैजाने छलफल पनि भएको थियो ।
उक्त समूहले उपसभापतिका लागि महेश आचार्यलाई आधिकारिक उम्मेदवारको रुपमा घोषणा गरेको छ । महामन्त्री पदमा भने गगन थापाको उम्मेदवारी पक्का भएको छ ।
नेता पौडेलले आफ्नो पक्षबाट शेखर कोइरालालाई सभापतिका लागि आधिकारिक उम्मेदवारको रुपमा उभ्याएको भन्दै विज्ञप्ति समेत सार्वजनिक गरेका छन् । अरु पदाधिकारी र केन्द्रीय सदस्यहरुको टिम बनाउने काम भइरहेको छ ।
प्रतिकृया दिनुहोस