कांग्रेस महाधिवेशन : मनोनयन दर्ता आज
काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।
काठमाडौँको भृकुटीमण्डमा शुक्रबार शुरु भएको महाधिवेशन उद्घाटनसत्र सकिएपछि भएको बन्दसत्रले तीनवटा प्रतिवेदन पारित गरेको थियो ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार बन्दसत्र सत्रिएपछि महाधिवेशन अब चुनाव केन्द्रित भएको हो । शनिबार उम्मेदवारी दर्ता हुने छ भने पर्सि सोमबार मतदान हुनेछ ।
नेपाली कांग्रेसको विधानअनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति हुन्छ, जसमा १४औँ महाधिवेशनले १३४ जनालाई निर्वाचित गर्नेछ ।
सभापति एक, उपसभापति दुुई, महामन्त्री दुुई र सहमहामन्त्री आठ पदका लागि निर्वाचन हुने छ । केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्ने व्यवस्था कांग्रेसको विधानमा छ। सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ ।
चार हजार ७४३ प्रतिनिधि
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार ७७ जिल्ला, भ्रातृ सङ्गठन, शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूबाट महाधिवेशन प्रतिनिधि छानिएर आएका हुन् ।
यस्तो छ चुनावी कार्यतालिका
१. उम्मेदवारको मनोनयन दर्ता : आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ।
२. उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुँझ : आजै बेलुका ५ बजेदेखि ७ बजेसम्म। त्यसपछि ७ बजेदेखि ९ बजेसम्म दाबी विरोध उपर निर्णय हुने र १२ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन (देवनागरिक वर्णानुक्रम अनुसार) हुनेछ ।
३. भोलि बिहान ११ बजेसम्म मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि दिउँसो १२ : १५ बजे हुनेछ।
४. मतदान पर्सि बिहान ८ बजे हुनेछ ।
सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचन सम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिनेछ।
सभापति बाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिहरुको रोहबरमा मतपेटिका शिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालय केन्द्रीय निर्वाचन समितिले तोकेको कोठामा सुरक्षित गरी कोठाको समेत शिलबन्दी गरिनेछ।
सभापति पदको बाहेक बाँकी पदाधिकारी र सदस्यहरुको मतगणना नेपाली कांग्रेस, केन्द्रीय कार्यालय सानेपामा हुनेछ।
प्रतिकृया दिनुहोस