को बन्ला धनकुटामा एमालेको जिल्ला अध्यक्ष ? यस्तो छ आकलन
धनकुटा । धनकुटामा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा बाचुञ्जेल धनकुटालाई थापाको जिल्ला भनियो । उनको मृत्युपछि धनकुटाको पहिचान पनि मेटिँदै गएको थियो । त्यहीबेला नेकपा एमालेका जिल्ला अध्यक्ष राजेन्द्रकुमार राईले सात वटै स्थानीय तह आफ्नो कब्जा गरेपछि फेरि जिल्लाको पहिचान बद्लियो ।
अर्थात् राईको नेतृत्वमा धनकुटाका सात वटै स्थानीय तहमा एमालेले जित हासिल गरेपछि धनकुटा एमालेको सबैभन्दा बलियो जिल्ला बन्यो । त्यति मात्रै होइन, एमाले विभाजित भएपछि त झन धनकुटा जतिको बलियो जिल्ला कुनै भएन । आज त्यही जिल्लामा एमालेको नेतृत्व परिवर्तन हुँदैछ ।
२०६५ सालदेखि निरनतर रुपमा जिल्ला सम्हाल्दै आएका राजेन्द्रकुमार राई चितवनमा सम्पन्न १० औं महाधिवेसनबाट केन्द्रिय सदस्य निर्वाचित भएपछि नेकपा एमालेकै सबैभन्दा शक्तिशाली मानिएको जिल्लामा अब कसले नेतृत्व गर्दा त ? चौतर्फी चासोको विषय बनेको छ ।
१० औं महाधिवेसनबाट प्रतिनिधि सभा सदस्यसमेत रहेका राई, प्रदेश सभा सदस्य एवं एमाले नेतृ विनादेवी राई र धनकुटा नगरपालिकाकी उपमेयर एवं एमाले नेतृ शकुन्तला बस्नेत केन्द्रिय निर्वाचित भएका छन् । राई केन्द्रिय सदस्यमा निर्वाचित भएपछि जिल्ला अध्यक्ष खाली छ ।
पटकपटक उपेक्षामा पर्दै आएको धनकुटामा गत स्थानीय तहको निर्वाचनमा जिल्लामा रहेका सात वटै पालिकामा एमालेको नेतृत्व ल्याउन सफल बनेका राजेन्द्रकुमार राईलाई केपी ओलीले धनकुटामा आएर म्यान अफ द इलेक्सन घोषणा गरेका थिए ।
जिल्ला अध्यक्षसमेत रहेका राईलाई केन्द्रिय सदस्य बनेसँगै जिल्लामा एमालेको नेतृत्वको विषयमा छलफल हुन थालेको छ । अब को बन्ला त एमालेको जिल्ला अध्यक्ष ? के अब बन्ने अध्यक्षले एमालेको विगतको छवी जोगाइराख्न सक्लान् त ? अनेकौं प्रश्नहरुजन्मिन थालेको छ ।
एमालेको विधानमा माथिल्लो तहमा पुगेपछि तल्लो तह स्वत छोड्नुपर्ने भनिएको छ । सोही अनुसार राईको पद स्वतः खारेज भएको छ । राई अध्यक्ष बन्न नपाउने भएपछि धनकुटामा अध्यक्ष बन्न धेरैले खुट्टा उचालिरहेका छन् ।
पद खाली, भर्न सकस
धनकुटामा स्वभाविकै रुपमा नेकपा एमाले बलियो छ । यदी सत्तारुढ गठबन्धन इमान्दारीताका साथ नलाग्ने हो भने प्रतिनिधिसभामा नेकपा एमालेलाई पराजित गर्न हम्मेहम्मे पर्ने अवस्था छ ।
केही समयअघि मात्रै एमाले विभाजन हुँदा धनकुटामा ठूलो प्रभाव परेको छैन । एमाले विभाजन हुँदा उपाध्यक्ष राई अध्यक्ष थिए भने दुर्गा लिंखा उपाध्यक्ष, सुरेन्द्र पौडेल सचिव थिए । लिंखा र पौडेल नेकपा (एस) मा गइसकेका छन् भने पदाधिकारीमध्ये सहसचिवमा निरन राई थिए । उनी प्रदेशसभा सदस्यसमेत हुन् ।
उनी पनि जिल्ला अध्यक्षको रेसमा छन् । पदीय मर्यादाक्रमलाई आधार मान्ने हो भने स्वभाविकै रुपमा दाबेदार हुन् । तर, उनलाई टंक चौहान र चिन्तन तामाङले टक्कर दिइरहेका छन् । तामाङ निर्वाचन क्षेत्र नं. (क) को प्रदेश संयोजक हुन् । एमालेले सचिवालय सदस्य मध्येबाट प्रदेश संयोजक चयन गर्छ ।
नेकपा एमाले विभाजन भएपछि र राई केन्द्रिय सदस्य भएपछि धनकुटामा ५ वटा पदाधिकारी खाली छ । त्यो खाली पदमा को को आउँलान् त ? सहसचिव राई भन्छन्, ‘अहिले म एक्लै पार्टीको एक्लो पदाधिकारी छु । सातौं जिल्ला सम्मेलनबाट जो पनि आउन सक्नुहुनेछ ।’
पछिल्लो विधान महाधिवेसनले जिल्लामा २ उपसचिव रहने व्यवस्था गरेको छ । आफु पनि पदाधिकारीको रेशमा रहेको सचिवालय सदस्य नैन रुचाल बताउँछन् । यतिबेला सात वटै स्थानीय तहमा प्रमुख उपप्रमुखहरु पनि पदाधिकारीकै रेसमा छन् ।
भार थेग्ने चुनौती
२०४८ सालयता धनकुटामा एमालेले सांसद जित्दै आएको छ । २ वटा निर्वाचन क्षेत्र हुँदा २०४८ मा २ वटै निर्वाचन क्षेत्रमा एमालेले जित हात पारेको थियो भने त्यसपछिका निर्वाचनमा क्षेत्र नं. १ मा मात्रै जित हात पार्दै आएको थियो । क्षेत्र नं. २ मा भने सूर्यबहादुर थापाले सधैं जित हात पार्थे ।
२०६२/०६३ मा भएको जनआन्दोलनको सफलतापछि भएको निर्वाचनमा भने माओवादीका हेमराज भण्डारी र हरिराज खेवाले जित हात पारे । दोस्रो संविधानसभाको निर्वाचनमा भने माओवादीले दुबै क्षेत्र गुमाउँदा थापा पुत्र सनीलबहादुर थापालाई लट्री परेको थियो । अर्थात् क्षेत्र २ मा उनले जिते भने १ मा एमालेले जित्यो ।
धनकुटा एकै क्षेत्र बनाइएपछिको पहिलो निर्वाचनमा थापा पुत्र सुनीललाई एमालेका राजेन्द्र राईले भारी मतान्तरले पराजित गरे । साथै क मा निरन राई र ख ा इन्द्रमणी पराजुलीले जित हात पार्दै एमालेलाई २०४८ सालको झल्को दिनेगरी जित पार्न सफल बन्यो । यसमा माओवादीसँग मिलेर निर्वाचनमा सहभागी बनेको थियो ।
अहिले एमाले विभाजन भएको छ । माओवादी पनि जिल्लामा उत्तिकै शक्तिशाली छ । त्यसमा पनि एमालेले विभाजनको मार खेपेको छ । एमालेमा रहँदा राम्रै प्रभाव जमाएका दुर्गा लिंखा, धर्म पौडेल, अर्जुन राई, बंगला राई, सुरेन्द्र पौडेल लगायतका नेताहरु नेकपा एसमा छन् । यसले पनि आउँदो निर्वाचनमा एमालेलाई प्रभावित बनाउने छ ।
माओवादीबाट २ जना वडाध्यक्ष एमाले प्रवेश गर्दा एमालेले राहतको महसुस गर्न सक्ला । तर, स्थानीय तहमा भएका पछिल्ला गतिविधिले जनतामा नैरश्यता पैदा भएको छ । यसले एमालेलाई चुनौती थपेको छ ।
राईले निर्वाचन जित्न साम, दाम, दण्ड र भेद प्रयोग गर्ने सामथ्र्य राख्थे । तर, अब बन्ने जिल्ला अध्यक्ष राजेन्द्र राई जतिको प्रभावशाली र निडर नहुने हो भने एमालेलाई जित हात पार्न त्यति सजिलो छैन । किनकी धनकुटामा नेपाली कांग्रेस पनि बलियो शक्तिको रुपमा उदाइरहेको छ ।
र यो पनि ...
प्रतिकृया दिनुहोस