चितवनका सुकुम्बासीले भने, ‘नो लालपुर्जा, नो भोट’
चितवन । चितवनको रत्ननगरमा सुकुमबासी समुदायले लालपुर्जाको माग गर्दै प्रर्दशन गरेका छन् । सरकार परिर्वतन भए पनि लालपुर्जा वितरणको काम अनिश्चित बनेपछि चितवनका सुकुमबासी समुदाय आन्दोलित बनेका हुन् ।
नेपाल बसोबास बस्ती संरक्षण समाज रत्ननगरले ‘नो लालपुर्जा, नो भोट’ भन्दै मंगलबार दवाबमुलक र्यालीसहित प्रर्दशन गरेका हुन् । निर्वाचनअघि नै लालपुर्जा नपाए निर्वाचन बहिस्कार गर्ने सुकुमबासीहरूको योजना छ । केपी ओलीको सरकारले गठन गरेको सुकुमबासी आयोग शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरिदिएपछि लालपुर्जा वितरण अन्योल बनेको छ ।
लालपुर्जा वितरणको काम अनिश्चित बनेपछि चितवनका सुकुमबासी समुदाय आन्दोलित बनेको नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनका अध्यक्ष छविलाल देवकोटाले बताए । ‘नेताहरूले सुकुम्बासीलाई भोट बैंकको रूपमा प्रयोग गर्दै आएका छन्’, उनले भने, ‘त्यसैले हामीले आजको प्रदर्शनको मुख्य नारा नै ‘नो लालपुर्जा, नो भोट’ बनाएका छौँ ।’
र्यालीमा रत्ननगरसहित चितवनका सयौँ सुकुमबासीको सहभागी थियो । सहभागीहरूले ‘बसोवासका आधारमा लालपुर्जा देऊ’, ‘झुटको राजनीति बन्द गर’, ‘उधारोमा भोट माग्ने प्रथा अन्त्य गर’ लगायतका नारा लगाएका थिए । रत्ननगरको निपनी चोकबाट सुरु भएको र्याली टाँडीचोक हुँदै बकुलहरस्थित रत्ननगर नगरपालिकाको गेटमा कोण सभामा परिणत भएको थियो ।
नेपाल बसोबास बस्ती संरक्षण समाज रत्ननगरका अध्यक्ष दिलबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय महासचिव राजु तामाङ, जिल्ला अध्यक्ष छविलाल देवकोटा, आकृति महिला सहकारीकी अध्यक्ष फूलकुमारी लामालगायतले मन्तव्य राखेका थिए ।
सभामा समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले लालपुर्जा प्राप्तिका लागि अन्तिम मिसनका रुपमा देशव्यापी अभियान सुरु गरेको बताए । लालपुर्जा नपाएसम्म आगामी तीनै तहको निर्वाचनमा सुकुमबासी समुदायले भोट नहाल्ने उनको भनाइ छ ।
नेपालमा ७० लाख सुकुमबासी र ४० लाख मतदाता रहेको भन्दै उनले लालपुर्जा नपाए ४० लाख सुकुमबासीले निर्वाचत बहिस्कार गर्नेसमेत चेतावनी दिए। ‘अहिलेसम्म १६ वटा आयोग बने,’ उनले भने, ‘त्यो १६ वटा आयोगले १६ घर धुुरीलाई समेत लालपुर्जा दिन सकेन।’
प्रतिकृया दिनुहोस