विदामा बस्न प्रधानन्यायाधीशलाई सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको सुझाव
काठमाडौं । लामो समयसम्म मुख नखोलेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले बल्ल प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।
प्रधानन्यायाधीश जबरालाई कोरोना भाइरसको संक्रमण भएपछि सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश विरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतका नेताहरु सहभागी थिए ।
प्रधानन्यायाधीश जबरालाई कोरोना भाइरस संक्रमण देखिएपछि हाल उनी सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत छन् । सर्वोच्चमा प्रधानन्यायाधीशको अधिकार कटौती गर्दै गोलाप्रथा प्रणालीबाट पेसी तोक्ने सुरुवात बुधबारबाट भएपनि प्रधानन्यायाधीशले कार्यवाहक नतोकेको भन्दै इजलास बस्न सकेको थिएन ।
बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘प्रधानन्यायाधीश विरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको छ ।’
प्रतिकृया दिनुहोस