सर्वाेच्च अदालतमा आजदेखि गोला प्रथाबाट पेसी तोकिँदै, प्रधानन्यायाधीशको अधिकार कटौती
काठमाडौं । सर्वोच्च अदालतमा आज बुधबारबाट गोला प्रणालीमार्फत इजलास र पेसी तोकिँदैछ । विहान १० बजे सबै न्यायाधीशहरु भेला भई गोटी तानेर इजलास गठन गर्ने र त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइको सुरुवात गर्नेछन् ।
यसअघि प्रधानन्यायाधीशले इजलास र पेसी तोक्दै आएकोमा अब पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार नयाँ अभ्यास हुन लागेको हो । अब न्यायाधीशले अपारदर्शी थैलीमा राखिएका समान रूप, रंग, आकार र बनोटका गोटी तान्नुपर्ने हुन्छ। वरिष्ठताका आधारमा न्याायधीशहरूले यो थैलीबाट पालैपालो गोटी निकालेर बृहत् पूर्ण र पूर्ण इजलासहरू गठन गर्छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पेसी र इजलास अधिकारको दुरुपयोग गरेको भन्दै न्यायाधीश र कानुन व्यवसायीले नै विरोध गरेपछि नयाँ अभ्यास थालिएको हो ।
नयाँ पेसी व्यवस्थापन प्रक्रियासँगै इजलासमा न्यायाधीश छान्ने र इजलासमा मुद्दा तोक्ने प्रधानन्यायाधीशको तजविजी अधिकार कटौती हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा स्वेच्छाचारी भएको, सेटिङका आधारमा इजलास गठन र मुद्दा व्यवस्थापन गरेको आरोपमा बारले गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्न माग गरेको थियो ।
गत साउनमा न्यायाधीश हरिकृष्ण कार्कीले पेश गरेको प्रतिवेदनमा पनि अल्पकालीन रुपमा गोलाप्रक्रिया र दीर्घकालीन रुपमा स्वचालित पेशी प्रक्रिया अपनाउनुपर्ने सुझाव दिइएको थियो ।
सर्वोच्च अदालतको पूर्ण बैठकले प्रतिवेदन स्विकृत गरेको थियो । त्यसक्रममा प्रधानन्यायाधीश जबराले गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए । अनि २०७८ साउन २४ गते सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रक्रियाबाट पेशी व्यवस्थापन गर्ने निर्णय समेत गरेको थियो । त्यसैको कानूनी व्यवस्था र निर्देशिका बनाउन न्यायाधीश मीरा खड्काको संयोजकत्वमा समिति बनेको थियो ।
योसँगै ८ कात्तिकदेखि इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीश ३७ दिनपछि गोला प्रक्रियाको सुनिश्चितता पश्चात् इजलास फर्किंदै छन् ।
प्रतिकृया दिनुहोस