कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैन : अध्यक्ष यादव
काठमाडौँ । जनता (समाजवादी पार्टी) नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न नहुने बताएका छन् ।
आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गरे त्यो स्वतन्त्र न्यायपालिका रहन नसक्ने बताएका हुन् ।
अध्यक्ष यादवले सरकारले न्यायपालिकाको विवाद मिलाउने विषयमा चासो राखेको भए पनि त्यसलाई हस्तक्षेप गरेको भन्न नमिल्ने बताए । “कार्यपालिकाले हस्तक्षेप गर्यो भने अन्तर्राष्ट्रिय जगतमा पनि लोकतन्त्रका लागि राम्रो मानिँदैन”, उनले भने, “कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैन । सुझाव सल्लाह दिएर यो समस्या हल होस् भन्ने कुरा अलग विषय हुन् ।”
अध्यक्ष यादवले प्रधानन्यायाधीशका विषयमा दलले भन्नुभन्दा पनि न्यायाधीश र अधिवक्ता बसेर यसको समाधान खोज्नुपर्छ भन्दै न्यायलयको आफ्नै पद्धति हुन्छ, न्यायलयमा अहिले देखिएको समस्या छिट्टै हल होस् र न्याय निरुपणको काम होस् भन्ने हाम्रो चाहना रहेको बताए । न्यायपालिका आफै एउटा संवैधानिक व्यवस्था भएको संस्था रहेको उल्लेख गर्दै उहाँले राजनीतिक सत्ता र शक्तिको प्रभावबाट यो संस्था स्वतन्त्र र अलग रहनुपर्ने बताए ।
“अब चाँडै नै संसद् बोलाउनुपर्छ र यसले बिजनेस पनि पाउनुपर्छ”, उनले भने, “संसद् समक्ष धेरै विधेयक छन् । त्यसलाई पारित गरेर अघि बढ्नुपर्छ ।” संसद् बोलाउने अधिकार मन्त्रिपरिषद्को कार्यक्षेत्रभित्र पर्ने भएकाले अनुकूलता मिलाएर बोलाउन सकिने उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस