एमाले महाधिवेशन : सौराहामा बन्द सत्र शुरु, नयाँ नेतृत्व चयन प्रक्रियापनि अघि बढ्दै
काठमाडौँ । नेकपा (एमाले) को १०औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बन्दसत्र चितवनको सौराहामा सुरु भएको छ ।
नारायणी नदी किनारमा शुक्रबार औपचारिक उदघाटन भएको १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा सुरु भएको हो । उदघाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा महाधिवेशनमा सहभागी हुन विभिन्न देशबाट आएका प्रतिनिधिहरुले सम्बोधन गर्ने कार्यसूचि छ ।
एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेताहरु आएका छन् । आजै नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयन हुने छ । महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय उपकरणबाट पहिलोपटक मतदान हुने भएको छ । मतदानका लागि ९२ वटा उपकरण प्रयोग गरिने जानकारी दिए ।
महाधिवेशनमा दुइ हजार तीन सय २७ जना प्रतिनिधिले सहभागी छन । उम्मेदवारको मनोनयन गरिसकेपछि आइतबार बिहानैदेखि मतदान गर्ने तयारी छ । नेकपा एमालेले १०औँ महाधिवेशनमा नेतृत्व चयन प्रक्रियालाई सकेसम्म सर्वसम्मत बनाउने पहल हुने भएको छ । बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल ल्याउने तयारी गरिएको छ ।
अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावललाई उपाध्यक्ष बनाउन ओलीले पहल गरेका छन । अष्टलक्ष्मी शाक्यलाई पनि उपाध्यक्ष बनाइने भएको छ । वर्तमान उपाध्यक्ष युवराज ज्ञवालीलाई अनुशासन आयोगका प्रमुख बनाइने भएको छ । घनश्याम भूसाललाई उपमहासचिवबाट उपाध्यक्षमा लैजाने तयारी छ । वरिष्ठ उपाध्यक्ष दावी गरेका सुवास नेम्वाङलाई भविष्यमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख जस्ता पदमा सिफारिस गर्ने गरि सहमतिको प्रयास हुने भएको छ ।
पूर्व माओवादी केन्द्रबाट एमालेमा गएका रामबहादुर थापाले पनि उपाध्यक्षको जिम्मेवारी पाउने भएका छन । महासचिवमा विष्णु पौडेल, शंकर पोखरेल र सुरेन्द्र पाण्डेले दाबी गरेपनि दुई जनालाई उपाध्यक्ष बनाएर शंकर पोखरेललाई महासचिव बनाउने तयारी अध्यक्ष ओलीले गरेका छन । प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरुङ, बिन्दा पाण्डे, टोपबहादुर रायमाझी र लेखराज भट्टमध्येवाट उपमहासचिव चयन हुनेछन ।
सचिवमा योगेश भट्टराई, भीम आचार्य, शिवमाया तुम्वाहाङ्फे, पद्मा अर्याल, शेरबहादुर तामाङको नाम चर्चामा छ । महेश बस्नेत, खगराज अधिकारी, भानुभक्त ढकाल, कर्ण थापालगायतले पनि सचिवमा उम्मेदवारी घोषणा गरेका छन । नेता व्यवस्थापनकै लागि एमालेले १९ सदस्यीय पदाधिकारी, ९९ सदस्यीय पोलिटब्युरो र तीन सय एक सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरिसकेको छ ।
प्रतिकृया दिनुहोस