निर्वाचनमा माधव नेपाल र प्रचण्ड पत्तासाफ हुन्छन् :महेश बस्नेत
काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले एमालेविरुद्ध पाँच दल नभएर १ दशमलव ४ दल लागेको बताएका छन् । युवा संघको साइबर सर्कल घोषणा कार्यक्रममा नेता बस्नेतले एमालेविरुद्ध पाँच दल लागेको भनेर गरिएको प्रचारलाई गलत भएको बताए ।
‘अहिले एमालेविरुद्ध पाँच दलको गठबन्धन बनेको भनिएको छ,’ उनले भने, ‘तर, त्यो पाँच दल होइन, १ दशमलव ४ दल हो, एउटा दल कांग्रेस हो भने बाँकी चार दल भनेको शून्य दशमलव ४ हुन् ।’ सांसदसमेत रहेका नेता बस्नेतले आगामी निर्वाचनमा नेकपा एमालेले दुई तिहाई बहुमत ल्याउने दाबी गर्दै कांग्रेस अहिले ल्याएको भन्दा पनि आधामा खुम्चने बताए ।
उनले भने, ‘अब आउने निर्वाचनमा एमाले दुई तिहाई, कांग्रेस हाफ हुनेछ भने माधव नेपाल र प्रचण्ड पत्तासाफ हुनेछन् ।’ सांसद बस्नेतले अबको निर्वाचनपछि नेकपा एमालेले बहुमत ल्याएर पुनः केपी शर्मा ओलीले देशको नेतृत्व गर्ने बताए । उनले साइबर सर्कलले एमालेको प्रतिरक्षा मात्र नभइ समाजमा पनि योगदान पुर्याउने बताए ।
नेता बस्नेतले साइबर सेना नाम राख्दा द्वन्द्वको झल्को दिएको सुझाव आएपछि आफूहरुले साइबर सर्कल घोषणा गर्न लागेको स्पष्ट पारे । एमालेविरुद्ध समग्र रुपमा प्रचार अभियान सुरु भएको र एमालेलार्ई खुइल्याएबापत रिचार्ज कार्डदेखि मोबाइलसम्मको पुरस्कारको व्यवस्था गरिएकोसमेत खुलासा गरे ।
‘एमालेलाई खुइल्याएबापत मोबाइल र रिचार्जकार्ड दिन थालिएको छ,’ उनले भने, ‘हाम्राविरुद्ध ग्रुपहरु बनाइएका छन्, फेक आइडी बनाएर हाम्राविरुद्ध लगाइएका छन् ।’
प्रतिकृया दिनुहोस