एमाले १०औँ महाधिवेशन : विद्युतीय मेसिनबाट मतदानका लागि तयारी पूरा
काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पूरा भएको छ ।
नयाँ नेतृत्वका लागि विद्युतीय मेसिन (इबिइम) बाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बताए ।
उद्घाटन सत्र सकिएपछि यही मङ्सिर ११ गते उम्मेदवार दर्ता गरिने छ । आयोगले मङ्सिर १२ गते निर्वाचन गर्ने तयारी गरेको छ । उम्मेदवार दर्ता गरिसकेपछि विद्युतीय मेसिनमा उम्मेदवारको नाम दर्ता गर्नका लागि करिब ८ देखि १० घण्टा लाग्ने जनाइएको छ ।
आयोगका अध्यक्ष डा.सुब्बाले विद्युतीय उपकरणमा नाम दर्ता गराएपछि अर्को दिन मङ्सिर १२ गते बिहानैदेखि मतदान हुनेछ । उनका अनुसार एक प्रतिनिधिलाई विद्युतीय उपकरणमा मतदान गर्न आधा घण्टा लाग्ने छ ।
विद्युतीय मेसिनमा मतदान गर्नका लागि १० देखि १२ घण्टा लाग्ने उनले बताए । एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ । महाधिवेशनका लागि प्रतिनिधिसमेत चयन भइसकेका छन् ।
प्रतिकृया दिनुहोस