सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनु आवश्यक छ : मन्त्री श्रेष्ठ
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनुपर्ने आवश्यकता रहेको बताएकी छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३० औँ साधारणसभाको शुक्रबार काठमाडौँमा उद्घाटन गर्दै उनले समग्र विकासका लक्ष्य प्राप्त गर्न सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको बताएकी हुन् ।
मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई मुलुकको समृद्धिको आधारका रुपमा विकास गर्न मन्त्रालयले ‘भिजन पेपर’ को तयारी अघि बढाएको जानकारी दिदैं अर्थतन्त्रको तीन खम्बे नीतिमा सहकारी क्षेत्र महत्वपूर्ण एवम् संवेदनशील क्षेत्र भएको उल्लेख गरेकी छन् ।
सामाजिक सशक्तीकरणमार्फत गरिबी न्यूनीकरणको राष्ट्रिय लक्ष्यमा बचत तथा ऋण सहकारी संस्थाको योगदान महत्वपूर्ण रहने विश्वास व्यक्त गर्दै उनले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्न, छरिएर रहेको श्रम, सीप, पुँजी र प्रविधिलाई एकीकृत गर्न र बृहत् सञ्जालीकरणमार्फत समग्र उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जना गर्न सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताइन् ।
मन्त्री श्रेष्ठले सहकारी र बैंकबीच कानूनी, प्रशासनिक तथा सैद्धान्तिकरुपमा नै अन्तर रहेकाले बचत तथा ऋण सहकारी र बहुउद्देश्य सहकारी सामूहिक सहकार्य र प्रजातान्त्रिक अभ्यासद्वारा सामूहिक गतिविधिबाट सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।
प्रतिकृया दिनुहोस