सिभिल बैंकका अध्यक्ष इच्छाराज पदमुक्त
काठमाडौं । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पदमुक्त भएका छन्। सिभिल बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले नयाँ नेतृत्व चयन गरेसँगै तामाङ पदमुक्त भएका हुन्।
बैंकको बैठकले प्रतापजंग पाण्डेलाई अध्यक्ष नियुक्त गरेको छ। यसअघि अध्यक्ष रहेका तामाङ ठगी आरोपमा असोज १८ गतेदेखि जेलमा छन्। सिभिल सहकारीका पूर्वअध्यक्षसमेत रहेका तामाङ तथा अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले संगठित ठगीको विरुद्ध अनुसन्धान गरिरहेको छ।
यस्तै अन्य ३३ जनाविरुद्ध पनि उजुरी परेको ब्युरोले जनाएको छ। उजुरी पर्नेमा पक्राउ परेका आफन्त तथा पूर्वकर्मचारी रहेको ब्युरोले जनाएको छ। संगठित अपराधमा संलग्न भएको भन्दै उनीहरूका विरुद्ध पनि उजुरी परेको हो।
तामाङविरुद्ध १ हजार ४ सय ४२ जनाले उजुरी दिएका छन्। ५ अर्ब ५३ करोड बढी ठगी भएको भन्दै ती उजुरीकर्ताले बिगो दाबी गरेका छन्। लामो समयदेखि निक्षेप फिर्ता नपाउनेमा करिब दुई हजार सदस्य छन्। तामाङले सिभिल सहकारीको रकम अपचलन गरी आफ्ना निजी कम्पनीमा लगेका थिए।
प्रतिकृया दिनुहोस