हेर्नुहोस् निषेधाज्ञाको सूचना
दुई समुदायको विवादले उग्ररूप लिँदा जनकपुर तनावग्रस्त, प्रशासनद्वारा निषेधाज्ञा घोषणा
जनकपुर । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा स्थानीय दुई समुदायबीच भएको विवादले शनिबार उग्ररूप लिएपछि अवस्था तनावपूर्ण बनेको छ ।
केही दिनअघि छठ पर्वमा घाट निर्माण गर्ने विषयमा स्थानीय समुदायले अवरोध खडा गरेपछि भएको झडपमा चार जना घाइते भएका थिए । सोही विषयलाई लिएर आज पुन: स्थानीय दुई समुदायबीच झडप भएको हो ।
स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले कयौँ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ भने झडपको क्रममा दुई जना प्रहरीसहित तीन जना घाइतेसमेत भएका छन् । झडपमा एक सशस्त्र प्रहरी, एक जनपद प्रहरी र एक जना महिला समेत गरी तीन जना घाइते भएको प्रहरीको भनाइ छ । प्रहरीले एक दर्जनभन्दा बढी अश्रुग्याँस प्रहार गरेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए ।
झडपमा केही सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । उनले झडप पछिको स्थितिलाई नियन्त्रणमा लिन ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको बताए । झडपको अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले धनुषाले प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
भोलि राति १० बजेसम्म लागू हुने निषेधाज्ञा पूर्वमा जलाद नदीको कल्री बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म कायम रहेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले भेला जुलुस, प्रदर्शन, घेराउ, र्याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी मिति ०७८ कार्तिक २७ देखि दिउँसो २ बजेदेखि कार्तिक २८ को राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको जनाएका छन् ।
प्रतिकृया दिनुहोस