अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै, प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने
काठमाडौं । अमेरिकाका दक्षिण र मध्य एसिया मामिला हेर्ने सहायक मन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउने भएका छन् । उनी १७ नोभेम्बर नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
दुई दिनको नेपाल भ्रमणमा आउने उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, अन्य मन्त्री तथा विभिन्न दलका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
नेपाल र अमेरिकाबीच सन् २०१७ मा हस्ताक्षर भएको अमेरिकी अनुदान सम्झौता (एमसीसी) कम्प्याक्ट सम्झौताको संसदीय अनुमोदनका लागि समय घर्किरहेको बेलामा अमेरिकाका दक्षिण र मध्य एसिया मामिला हेर्ने सहायक मन्त्री लूको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
यसअघि नेपाल भ्रमणमा आएकी अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा जी सुमरले आर्थिक अनुदानलाई राजनीतिक मुद्दा बनाउन नहुनेमा जोड दिएकी थिइन । उनले नेपालले यसबारे चाँडै निर्णय लिनेमा आफू आशावादी रहेको बताएकी थिइन ।
तर, सरकारले एमसीसी सम्झौताको संसदीय अनुमोदनको कुनै कदम नचालेकाले मन्त्री लूले पनि शीर्ष भेटमा नेपालको धारणा लिनेछन् । विद्युत् प्रसारण लाइन र सडक निर्माणमा खर्च गरिने करिब ६० अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौतालाई लिएर नेपालभित्र गहिरो मतभेद छ ।
एमसीसी अनुदानसम्बन्धी कम्प्याक्ट सम्झौतालाई अहिलेकै अवस्थामा कार्यान्वयन गर्ने विषयलाई लिएर सत्ता गठबन्धनभित्रै मतभेद छ ।
उक्त सम्झौतालाई संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्री देउवालाई सत्तारूढ गठबन्धनका दलहरू वा प्रमुख विपक्षी नेकपा एमालेको सहयोगको आवश्यकता पर्छ ।
प्रतिकृया दिनुहोस