१२ दिनमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यास अब सिलिन्डरको १५७५ रुपैयाँ पर्ने
काठमाडौं । बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयाल निगमले १२ दिनपछि फेरि मूल्य बढाएको हो ।
पेट्रोल, डिजेल, मट्टितेल आन्तरिक तथा बाह्य हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेको छ । १२ दिन अघि पनि मूल्य बढाइएको थियो । यसरी दुई हप्तामा दुई पटक मूल्य बढेको हो ।
खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ । कात्तिक १२ गते पनि निगमले ग्यास ५० रुपैयाँ बढाएको थियो ।
अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल/मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ । आन्तरिक तर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्याइएको निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।
त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ । निगमले गत कात्तिक १२ गते पनि तेलमा प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो ।
मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर १७.५८, डिजेलमा १३.१४ रुपैयाँ घाटा रहेको निगमले बताएको छ । ग्यासमा प्रति सिलिन्डर ६५७.८४ घाटा छ । १५ दिनमा निगमलाई २ अर्ब ६२ करोड घाटा हुने निगमको प्रक्षेपण छ ।
प्रतिकृया दिनुहोस