सर्वोच्चमा एउटा मात्र बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइ
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले बन्दी प्रत्यक्षीकरणसम्बन्धी एउटा मुद्दामा सुनुवाइ गरेका छन् ।
मंगलबार (आज) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसहित १६ जना न्यायाधीशलाई १० वटा इजलास तोकेका थिए । आफूलाई एकल इजलास र अन्य १६ जना न्यायाधीशलाई उनले ९ वटा संयुक्त इजलास तोकेका थिए ।
न्यायाधीशद्वय केसी र शर्मालाई एउटा बन्दी प्रत्यक्षीकरणसहित ३६ वटा मुद्दामा पेशी तोकिएको थियो । अन्य मुद्दा भने हेर्न नभ्याइनेमा राखिएको छ । यही कात्तिक ८ गतेपछि केही दिन बन्दी प्रत्यक्षीकरण मुद्दा मात्रै पेशीमा चढाएका प्रधानन्यायाधीश जबराले आज अन्य मुद्दाको पनि पेसी तोकेका थिए ।
प्रधानन्यायाधीश जबराबाहेकको इजलासमा पेशी तोकिएका मुद्दाको स्थितिमा भने बेन्च नबसेको उल्लेख छ । न्यायालय सुधारका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने मागसहित सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् ।
त्यस्तै, प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले पनि लगातार आन्दोलन गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस