चक्रपथ विस्तार अनिश्चित, अब कहिले बन्छ ?
काठमाडौं । चीनले चक्रपथको कोटेश्वर–कलंकी सडक अनुदानमा विस्तार गरिदिएको तीन वर्ष भयो । उक्त खण्डको काम सकेलगत्तै सरकारले २०७५ मा कलंकी–धोबी खोला (चाबहिल) दोस्रो खण्ड विस्तार गर्ने सम्झौता चीन सरकारसँग गरेको थियो । तर, लामो समय डिजाइन र डीपीआर नहुँदा आयोजना कस्तो बन्छ, कहाँ कति संरचना बन्छन् भन्नेमा नेपाली पक्ष अनभिज्ञ छ ।
अहिलेसम्म चिनियाँ पक्ष के गर्दै छ भन्ने नै थाहा नभएको सडक विभागका उपमहानिर्देशक रामहरि पोख्रेल बताउँछन् । ‘हाम्रो तर्फबाट गर्नुपर्ने काम ९५ प्रतिशत सकेका छौं । यहाँ आएर काम थाल्न भनी हामीले दुईपटक पत्र पठाइसक्यौं’, उपमहानिर्देशक पोख्रेल भन्छन्, ‘तर, उहाँहरू आउन मानिरहनुभएको छैन । हालसम्म डीपीआर, डीजाइनसमेत दिनुभएको छैन ।’ सरकारले उच्च तहमै यस विषयमा कुरा गर्नुपर्ने पोख्रेलको भनाइ छ ।
काठमाडौं चक्रपथ सडक योजना कार्यालयकी इन्जिनियर सुमित्रा अधिकारीका अनुसार दोस्रो खण्डको ११.६ किलोमिटरमा नेपालले पहिला साइट क्लियर (रूख, पोल र ढल हटाउनुपर्ने) गर्नुपर्ने सम्झौतामा उल्लेख छ । त्यसपछि चिनियाँ टोलीले सडक विस्तार गर्ने सम्झौता छ । जसअनुसार चक्रपथको चौडाइ बीचबाट दुवैतर्फ २५–२५ मिटर हुनुपर्नेछ। थप ६–६ मिटरमा नेपालले सर्भिस ट्र्याक बनाउनुपर्ने हुन्छ । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
प्रतिकृया दिनुहोस