पर्यटन बोर्डका सीईओ रेग्मीलाई कारबाही गर्ने मन्त्रालयको तयारी
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा लफडा परेका पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीलाई कारबाही गर्ने तयारी गरेको छ।
सीईओ रेग्मी र भन्सार कार्यालयका कुटपिट भएको भनिएका कर्मचारीसँगको सोधपुछपछि कारबाहीको तयारी गरिएको पर्यटनमन्त्री प्रेम आलेको सचिवालयले जनाएको छ।
स्रोतका अनुसार सीईओ रेग्मीलाई निलम्बन वा बोर्ड सीईओको जिम्मेवारीबाट मुक्त गर्नेसम्मको तयारी छ । यता प्रमुख कार्यकारी अधिकृत रेग्मी र विमानस्थल भन्सार कर्मचारीका बीच भएको सामान्य कुरालाई अतिरञ्जित गरिएको जनाएको छ।
बेलायतमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल मार्टमा सहभागी भई नेपाल फर्किने क्रममा विमानस्थलको आगमन कक्षमा गत २० गते लफडा भएको थियो।
विमानस्थलमा रेग्मीले ड्युटी फ्रि मदिरा कोटाभन्दा बढी ल्याएको भन्दै कर्मचारीले रोकेका थिए।
त्रिभुवन विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले समेत मदिरा सेवन गरेको रिपोर्ट नआए पनि कोटाभन्दा बढी मदिरा लिएको विषयमा कारबाही गरेको बताएका छन्। विमानस्थलले रेग्मीलाई ५ हजार जरिवाना तिराएको छ।
प्रतिकृया दिनुहोस