हराउँदै भैलीको मौलिकता

1751902604deusi bhailo

काठमाडौँ । सोह्र वर्षको उमेरमा भैली खेल्दा जम्मा भएको चामल बोराभरि बोकेर सातगाउँ डुलेका बागलुङको गलकोट नगरपालिका–४ का भवदत्त न्यौपानेलाई अहिले पनि भैलेनीको खुब याद आउँछ। सत्तरी वर्षीय न्यौपानेलाई उहिलेको भैलेनी सम्झिँदा अहिले पनि मारुनी बनेर नाचौँ नाचौँ लाग्छ। महिलाको भेषमा पुरुषले सोरठी गीतमा नाच्नुलाई मारुनी भनिन्छ।

गाउँभरिका तन्नेरी जम्मा भएर भैली खेल्दा, मारुनी नाच्दा रमाइलो हुन्थ्यो। कात्तिके दान जसको घरमा जे छ, त्यही दिने चलन थियो। चामल, धान कोदोलगायतका अन्न धेरै दान पाइने भएकाले बलिया युवा भैलेनीमा खोजी हुन्थे। बारीका कान्ला हुन् वा बाटोका पर्खाल भैलेनीमा हिँडेका युवाले जरक्कै भारी बोकेर पार लगाउँथे।

बलिराजाका कथा सोरठीको भाकामा गाउँदै मारुनी नाच्दा सातगाउँ डुलेको र रात कटेको पत्तै हुँदैनथ्यो रे उनलाई। राँको बालेर अक्करे भीरको बाटोमा हल्ला गर्दै हिँडेको तन्नेरी जोश अहिले बुढ्यौलीमा झल्झली याद आउँछ तर अहिले न्यौपानेले भैलेनी नदेखेको धेरै वर्ष भयो। आफूले गाउन नाच्न नसके नि अहिलेका नयाँ पुस्ताले भैलेनी खेलेको हेर्ने न्यौपानेको रहर छ।

‘न भैलेनीका गीत सुनिन्छ न नाच भैलेनीको जस्तो छ’, न्यौपानेले भने, ‘अहिले त गीत र नाच पनि सबै अर्कैका हुन्छन्, चन्दा माग्न हुल बाँधेर आएजस्तो, हरियो गोबरले लिपेको लक्ष्मीको पूजा गरेको कथा जस्तै हुन थाल्यो।’

बागलुङको जैमिनी नगरपालिका–१० का खगेन्द्र पौडेल पनि उ बेला भैलेनीका प्रखर गायक थिए। पचास वर्षीय पौडेल गाउने, नाच्ने र भट्याउने सबै कला भएका कलाकार हुन्। गाउँमा विद्यालयका लागि सहयोग गर्न होस् वा गोरेटो बाटो बनाउन किन नहोस्, राजनीतिक पार्टीको खर्च चलाउनेसम्मका कामका लागि भैली खेल्ने गरेको उनको अनुभव छ। पौडेलले पनि धेरै भयो सामाजिक भाव राखेर खेलिएको भैलो नदेखेको।
‘कति हिँडियो, कति गाइयो नाचका कुरै नगरौँ, भैलीको आफ्नै मौलिकता थियो’, पौडेल भन्छन्, ‘आजभोलि त हिन्दी र अंग्रेजी गीतमा नाचेर भैलो भन्छन्।’

विशेष गरेर तिहार पर्वमा खेलिने भैलो हराउँदै गएकामा पुराना पुस्ता चिन्तित छन्। भैलीको आफ्नै मौलिक पहिचान र इतिहास छ तर नयाँ पुस्ताले एकातर्फ भैलीको मौलिकतामाथि प्रहार गरिरहेको छ भने अर्कोतर्फ भैली खेल्ने संस्कृति नै लोप हुने अवस्थामा छ। अहिले भैलेनी आँगनमा आउँदैन, आँगनको फेरो हालेर भैलेनी नाच्दैनन्। डेक र स्पिकरमा घन्केका गीतमा हुने नृत्यले न त तिहार सम्झाउँछ न भैलोको कुनै छनक दिन्छ।

विक्रम संवतको १४ औँ शताब्दीबाट भैली खेल्ने परम्परा सुरु भएको हो। लोक साहित्यका जानकार प्राध्यापक डा दीनबहादुर थापा भन्छन्, ‘उ बेलाको बृहत खस राज्यबाट यो प्रचलन सुरु भएको हो। त्यतिबेला खस राज्यका प्रभावशाली राजा बलिले सामाजिक कामका लागि सेवा भावले चन्दा उठाउन पठाएको कथासँग भैलो जोडिएको छ।’

उनका अनुसार भैलोमा सोरठी गाउने चलन छ। खस राज्यमा गाइने सोरठी पनि दुई प्रकृतिको हुन्थ्यो। मङ्गोल समुदायले ढिलो सोरठी गाउँथे। सोरठीमा जयसिंह राजाको कथा गाइन्थ्यो भने आर्य समुदायले अलि छिटो गाउँथे। आर्य समुदायले राम चरित्रमा आधारित गीत गाउँथे। ‘ताल, नाच, लय भाव एउटै थियो, मात्रै गीतको गति र विषयवस्तु फरक रहेको पाइन्छ’, थापाले भने, ‘भैलोसँग कला–संस्कृति, परम्परा र समाजसेवा धेरै क्षेत्रसँग जोडिएको छ।’

अहिले भैलोको मर्म मारेर भैलो खेलिने गरेको थापाको बुझाइ छ। समाजसेवाका लागि दान सङ्कलन गर्न गाइने भैलो अहिले सीमित स्वार्थ पूर्तिका लागि प्रयोग हुने गरेको उनले गुनासो गरे। ‘पहिले पनि माग्थे, अहिले पनि माग्छन्, मनोरञ्जनका लागि खेलिने भैलोमा पहिले र अहिलेमा फरक छैन’, थापा भन्छन्, ‘मात्रै पहिले विशुद्ध समाजसेवा र मनोरञ्जनसँग जोडिएको भैलो अहिलेको तडकभडकले कहाँ पुर्‍यायो।’

भैलोमा आएको विकृति सुधार गर्दै संस्कृतिको संरक्षण गर्नुपर्ने तर्क छ उनको।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...