जसले हामीसँग टक्कर दिन्छ त्यो समाप्त हुन्छ : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले ‘गठबन्धनलाई कसैले भत्काउन नसक्ने दाबी गरेका छन् । बिहीबार मध्यपुर थिमि नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन नसक्ने बताएका हुन् ।
‘पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन सक्दैन । छिटै चुनाव हुनेवाला छैन,’ उनले भने, ‘कसैले भ्रम नपाले हुन्छ– आजै चुनाव, छिटै चुनाव हुनेवाला छैन । संघीय संसदको चुनाव आफ्नै समयमा हुनेछ,’ उनले भने । नेता नेपालले पाँच दलको गठबन्धन बलियो हुने भन्दै आफूहरुसँग टक्कर लिन खोज्नेहरु समाप्त हुने दाबी गरे ।
‘पाँच दलको गठबन्धन बलियो हुनेछ । गठबन्धन कसैले भत्काउन सक्दैन, हामीसँग टक्कर लिन खोज्ने एमालेको मुलुकबाट नाम निशान मेटिनेछ,’ उनले भने । आफूहरुसँग टक्कर लिन खोज्दा कर्णाली प्रदेशमा नेकपा एमाले उठ्नै नसक्ने हालतमा पुगेको समेत बताए । उनले हिन्दी लवजमा भने, ‘जो हमसे टकराएगा, चुरचुर होजाएगा ।’
त्यस्तै सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी सबैभन्दा ठूलो पार्टी बनेको र प्रदेश नम्बर दुईमा एमालेभन्दा धेरै अगाडि रहेको माधव नेपालको भनाई छ । त्यस्तै एक नम्बर प्रदेश र बागमती प्रदेशमा एकीकृत समाजवादी पार्टीको मुख्यमन्त्री बनेको बताउँदै उनले भने, ‘त्यसो हुनाले हामी भन्छौं हामीसँग टक्कर लिने कुरा सोच्यो भने तराईतिर भनिन्छ– जो हमसे टकराएगा चुरचुर होजाएगा, ख्याल गर ।’
आगामी निर्वाचनबारे विभिन्न ठाउँको आकलन गरिरहेको बताउँदै नेपालले भने, ‘आगामी चुनावमा एकीकृत समाजवादी पार्टीको विजय अभियान अघि बढ्ने छ । हामी जित्ने छौं । हामीसँग इर्ष्या गर्नेहरुको हालत खत्तम हुनेछ ।’
अब केही समयमा राष्ट्रियसभाको, स्थानीय तहको र रिक्त स्थानमा संघीय उपनिर्वाचन हुन लागेको भन्दै नेता नेपालले कलम छाप चिह्न भएको एकीकृत समाजवादीको विजयी अभियान अगाडि बढ्दै जाने जिकिर गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अहिले ओली नेतृत्वको एमाले गफाडी जमात भएको टिप्पणी गरे । गफाडीको कामै खिसिट्युरी गर्ने भएको उनको भनाइ थियो ।
प्रतिकृया दिनुहोस