एमाले अध्यक्ष ओली आज स्थलमार्ग हुँदै चितवन जाने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै छन्। अध्यक्ष ओली चितवनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन स्थलमार्ग हुँदै त्यसतर्फ जाने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ।
ओलीले नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत दासढुंगाको मदन–आश्रित पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ। अध्यक्ष ओलीले नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन स्थल नारायणगढको नारायणी नदी किनार अवलोकन गर्ने कार्यक्रम समेत रहेको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिइन्। ओलीले नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।
सोमबार दिउँसो साढे तीन बजे भरतपुर– १० मदननगरस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा १० औँ राष्ट्रिय महाधिवेशनको सम्पर्क कार्यालय उद्घाटन गरेर सौराहा जाने कार्यक्रम तय गरिएको छ। उनले महाधिवेशनको बन्दसत्र हुने स्थान सौराहामा सोमबार साँझ अवलोकन गर्ने कार्यक्रम छ।
मंगलबार भरतपुर–१६ मा निर्माणाधीन क्रुजसिप (मिनी पानीजहाज) को अवलोकन गर्ने र त्यसपछि माडीको अयोध्यापुरीमा रहेको राम मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको रावलले बताइन्। अध्यक्ष ओलीलाई धादिङदेखि नै कार्यकर्ताहरूले चोकचोकमा स्वागत गर्ने तयारी गरेका छन्। एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार इच्च्छामनकामना गाँउपालिका प्रवेश स्थलमा ओलीको भव्य स्वागत गर्ने कार्यक्रम छ। त्यहाँ चितवन जिल्लाका नेता कार्यकर्ता स्वागतका लागि सयौं मोटरसाइकल लिएर आउनेछन्।
कुचिनटारमा अध्यक्ष ओलीलाई स्थानीयबासिन्दाले स्वागत गर्ने कार्यक्रम छ। मुग्लिनमा पनि पार्टी कार्यकर्ता र स्थानीयबासीले अध्यक्ष ओलीलाई स्वागतको तयारी गरेका छन्। ओलीले दासढुंगामा जननेता मदन भण्डारी र जीवराज आश्रितको सालिकमा माल्यार्पण गर्ने छन्। त्यसपछि रामनगरमा कार्यकर्ता र स्थानीयबासिन्दाले ओलीको स्वागत गर्ने कार्यक्रम छ।
रावलका अनुसार चितवन पुगेर एमाले भरतपुर महानगरको प्रथम अधिवेशनको अध्यक्ष ओलीले उदघाटन गर्नेछन्। ओली आज चितवनको कसरामा नै बस्ने कार्यक्रम छ।
प्रतिकृया दिनुहोस