सानोभर्‍याङस्थित सैनिक कलेजमा एमबिबिएस पढिरहेका विद्यार्थी दुई महिनादेखि बेपत्ता  

Nepali sena health

काठमाडौं । काठमाडौंको सानोभर्‍याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन्।

दैलेखको गुराँस गाउँपालिका वडा नम्बर २ बस्ने दानबहादुर शाहीका २४ वर्षीय छोरा राजेश शाही लामो समयदेखि बेपत्ता रहे पनि उक्त घटनाको खास कारण खुल्न सकेको छैन।

काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले शाही बेपत्ता भएको भनि प्रहरीमा निवेदन परे लगत्तै खोजी सुरू गरिए पनि अहिलेसम्म अवस्था पत्ता नलागेको जानकारी दिए।

‘कलेजबाट निस्केर गएको भन्ने छ। हामी खोज्दै छौँ। कारण पत्ता लागिसकेको छैन,’ बस्नेतले भने।उनका परिवारले भने संस्थानको छात्रावासबाटै शाही हराएको जिकिर गर्दै सेनाले सत्यतथ्य जानकारी दिनुपर्ने माग गरेका छन्।

शाहीका फुपूका छोरा (नाताले दाइ) पदम मल्लले भदौ १७ गते कलेजबाटै बेपत्ता भएको जनाउँदै उनको अवस्था छिटो सार्वजनिक गर्न माग गरेका छन्।

भदौ १७ गते हराएका उनका बारे २१ गतेमात्रै सेनाले परिवारलाई खबर गरेकाले त्यसप्रति आशंका उब्जिएको उनले बताए। खबर पाउने वित्तिकै काठमाडौँ आएर नेपाली सेना र महानगरीय प्रहरी परिसरमा खोजतलासका लागि निवेदन दिएका थिए। तर अहिलेसम्म कुनै जानकारी आउन नसकेको मल्लको गुनासो छ।

‘आज ५९औं दिन भयो हराएको अहिलेसम्म अवस्था के छ कसैलाई पत्तो छैन। भइरहेको अनुसन्धान प्रक्रिया पनि चित्तबुझ्दौ छैन,’ उनले भने, ‘बाध्य भएर मिडियामा आउनुपरेको छ।’

मल्लले आफ्नो विद्यार्थीको निगरानी गर्नुपर्ने जिम्मेवारी रहेको संस्थानले ध्यान नदिँदा शाहीको अवस्था अज्ञात बन्न पुगेको बताए। ‘शाही असल विद्यार्थी हुन्। गलत भए पनि कानूनी उपचारको बाटो अलग्गै हुन्छ। हामीलाई मान्छे चाहियो,’ उनले जोड दिए।

शाहीका साथीहरूले आफूहरूलाई छिटो आएर राजेशलाई निकाल्नू भनेर खबर गरेको उनले बताए।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले संस्थानको गेटबाट निस्किएपछि शाही सम्पर्कविहीन भएको र अहिलेसम्म अवस्था थाहा हुन नसकेको बताए। उनले परिवार, प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा खोजी भइरहेको पनि जानकारी दिए। ‘उनी गेटबाट निस्किएपछि सम्पर्कमा आएका छैनन्। कारण फेला पार्न सकिएको छैन,’ प्रवक्ता पौडेलले भने।

दुई महिनादेखि फेला नपर्नुमा विडम्बना भएको र उनको खोजीका लागि प्रधानसेनापति प्रभूराम शर्माबाट स्पष्ट निर्देशन आएको पनि उनले जानकारी दिए। प्रवक्ता पौडेलले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले समेत घटनाको अनुसन्धान गरिरहेको र सिआइबीलाई अनुसन्धानमा सेनाको पूर्ण सहयोग रहेको बताए।

परिवारका सदस्यले उनको अवस्था पत्ता लगाएर न्याय दिन माग गर्दै आएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...