अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको छ : प्रधानमन्त्री देउवा

Ser bahadur deuba 2021

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको बताएका छन् ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६८औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले अदालतको परमादेशले संसद्, संविधान र लोकतन्त्र बचाएको बताएका हुन् ।

“केपी शर्मा ओलीलाई संसद् भङ्ग गर्ने अधिकार संविधानले दिएको थिएन, संविधानले नदिएको अधिकारलाई दुई÷दुईपटक प्रयोग गर्दा सर्वोच्च अदालतले संविधान बचाएको हो,” उनले भने । पाँच दलको गठबन्धनबाट बनेको सरकारसँग स्पष्ट बहुमत रहेकाले जनादेश छैन भन्नुको कुनै अर्थ नरहेको प्रधानमन्त्री देउवाले बताए ।

प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश र अदालतका बारेमा सरकार र आफ्नो पार्टीले केही नबोल्ने बताए । उनले भने, “यो अदालतभित्रको कुरा हो, उसैले यसको समाधान निकाल्न सक्छ ।” उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट भर्खरै राजीनामा दिएका गजेन्द्र हमाल कांग्रेसकै नेता भएको समेत स्पष्ट पारे । प्रधानमन्त्री देउवाले पार्टीको १४औँ महाधिवेशनलाई सफल बनाउन तरुण युवाको महत्वपूर्ण भूमिका रहेको बताए ।

सो अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनमा अनवरत योगदान गर्दै देशलाई सक्षम नेतृत्व दिएका युवाहरुका प्रेरणाका स्रोत प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले अभिनन्दन पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा तरुण दलका पूर्वाध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाँणले पार्टीलाई सबल, सुढृढ र सफल बनाउन तरुण युवाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । “कांग्रेसको महत्वपूर्ण खम्बा भनेको तरुण हो, पार्टी बलियो बनाउन तरुण, युवाहरु एकजुट र बलियो हुनुपर्छ,” उनले भने ।

गृहमन्त्री खाँणले लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि वर्तमान गठबन्धनको सरकार निर्माण भएको बताउँदै यसलाई सफल बनाउन तरुण युवाको उत्तिकै भूमिका रहेको स्पष्ट पारे । कांग्रेसले आफ्ना पार्टीका नेतालाई आलोचना गर्ने परिपाटीको अन्त्य भएमात्र पार्टीले आगामी निर्वाचनमा विजय हासिल गर्न सक्ने बताए ।

कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले लोकतन्त्रको रक्षा तथा पार्टीको विचारलाई संस्थागत गर्न र पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तरुण युवाहरु लाग्नुपर्ने बताए । उनले तरुण दलले पूर्णता नपाएकामा चिन्ता व्यक्त गर्दै हाम्रो र राम्रो कांग्रेस निर्माणका लागि युवाहरु एकजुट हुन आग्रह गरे । युवाहरु देशको भविष्य र सम्पत्ति भएकाले यसलाई सही ढङ्गले परिचालन गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...