स्वास्थ्य मापदण्डहरुको पालना गरी चाडपर्व मनाउन प्रचण्डले अपील
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैं, तिहार, नेपाल संवत्, छठ लगायतका चाडपर्वहरुको अवसरमा शुभकामना ब्यक्त गरेका छन ।
आज शुभकामना विज्ञप्ती प्रकाशित गर्दै अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन ।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरुका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु रहेको प्रचण्डको विज्ञप्तीमा उल्लेख छ । आफ्ना पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकतावद्ध राष्ट्र बन्न सफल भएको अध्यक्ष प्रचण्डको ठम्याइ छ ।
सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएकाले यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको हाम्रो कार्यभार भएको अध्यक्ष प्रचण्डले विज्ञप्ती मार्फत भनेका छन ।
कोरोना भाइरसका कारण अझै सहजरुपमा चाडपर्व मनाउने अवस्था नभएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गरी चाडपर्व मनाउन समेत अध्यक्ष प्रचण्डले सबैमा अपील गरेका छन् ।
प्रतिकृया दिनुहोस