वाग्मतीकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै, पाउँलिन् त विश्वासको मत ?
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मतका लागि प्रस्ताव राख्ने भएकी छन् ।
आज अपराह्न ३ बजे प्रदेश सभाको नवौ अधिवेशन आह्वान गरिएको छ । आजकै बैठकमा उनले विश्वासको मत लिने तयारी गरेको जनाइएको छ । मुख्यमन्त्री शाक्यका राजनीतिक सल्लाहकार माधव अर्यालले शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव संसदमा दर्ता गराएका थिए ।
नेकपा (एमाले) विभाजन भएर १३ सांसद नेकपा (एकीकृत समाजवादी) मा लागेपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । उनले आफूमाथि संसद्को विश्वास रहेको पुष्टि गर्न आज प्रदेश सभामा विश्वासको मत लिन लागेकी हुन् ।
भदौ २ गते एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्यले आज विश्वासको मत पाउने सम्भावना रहेको छैन । उनको पक्षमा एमाले ४३ सांसद मात्रै छन् । अहिले १०९ जना प्रदेश सभा सदस्य रहेको प्रदेशमा सरकार जोगाउन ५५ सांसद आवश्यक पर्छ । तर‚ गठबन्धनबाहिर रहेका अन्य साना दलसँग मिल्दा पनि मुख्यमन्त्री शाक्यका लागि आवश्यक मत पुग्दैन ।
४३ जना सांसद रहेको एमालेले गठबन्धनबाहिर रहेका विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग सहकार्य गर्दा पनि आवश्यक मत पुर्याउन सक्दैन ।
प्रतिकृया दिनुहोस