छोरी जन्माउनेलाई पैसा दिइने

Idlr4pzwkb6mcd24nroabf1eysqsroasxvrbvzvw

काभ्रेपलाञ्चोक । जिल्लाको नमोबुद्ध नगरपालिकामा ‘छोरी प्रोत्साहन, बुहारी सम्मान’ कार्यक्रम संचालन गरिएको छ ।

छोरी जन्माउँदा हतोत्साहित नभई गौरव गर्ने वातावरण सिर्जनाका लागि नगरपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरूप नगदसहित सम्मान गरेको छ । विभेदीकरणको अन्त्य गर्दै समुन्नत समाजको निर्माणका लागि नगरपालिकाले उक्त कार्यक्रमलाई अगाडि बढाएको बताएको छ ।

स्वास्थ्य संस्थामार्फत सुत्केरी भएका तथा छोरी जन्माएका आमालाई प्रोत्साहन स्वरूप नमोबुद्ध नगरपालिका- ९ को सहयोगमा दाप्चा स्वास्थ्य चौकीले नगदसहित सम्मान गरेको हो । नगरपालिकाले विभिन्न वडाका आमाहरूलाई बुधबार आयोजित एक कार्यक्रमका बीच प्रोत्साहन रकम प्रदान गरेको छ ।

कार्यक्रममा नगर प्रमुख टीपी शर्मा तिम्सिनाले गत १ साउनदेखि १४ असोजसम्मको अवधिमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ जना आमालाई नगद प्रदान गरेका हुन् । नगरपालिकाको वडा नम्बर - ९ ले विगतका वर्षदेखि नै दाप्चा स्वास्थ्य चौकीमार्फत छोरी जन्म प्रोत्साहन कार्यक्रम संचालन गर्दै आएको छ ।

कार्यक्रममा सुत्केरी आमालाई छोरी जन्माएबापत वडाबाट प्रदान गरिने पाँच हजार रुपैयाँ, स्वास्थ्य संस्थामा सुत्केरी भएबापतको दुई हजार रुपैयाँ, एम्बुलेन्स खर्चबापत एक हजार ८०० रुपैयाँ, अन्य स्वास्थ्य संस्थामा रिफर भएर जानेलाई थप दुई हजार रुपैयाँ र चार पटक गर्भ जाँच गराएबापतको ८०० रुपैयाँ एकमुष्ट रूपमा प्रदान गरिएको थियो ।

नमोबुद्ध नगरपालिकाले सडक, नगरपालिकाले पूर्वाधार मात्र नभई चेतनाको विकाससमेत अपरिहार्य रहेको तथ्यलाई मध्यनजर गर्दै ‘छोरी प्रोत्साहन, बुहारी सम्मान’ कार्यक्रम संचालन गरिएको नगर प्रमुख तिम्सिनाले बताए । यस वर्ष महिलाको स्वास्थ्य, शिक्षा र आर्थिक अवस्थालाई मजबुत बनाउनका लागि थप नीति तथा कार्यक्रम तय गरेको उनले जानकारी दिए ।

नगरको मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएको, दाप्चा स्वास्थ्यचौकीलाई नगर अस्पतालमा स्तरोन्नति गरिएको तथा नगरमा थप एम्बुलेन्सको व्यवस्था गरिएको उनले बताए ।

उपप्रमुख रामदेवी तामाङले समाजमा छोरीमाथि गर्भदेखि नै विभेद हुँदै आएको बताउँदै त्यसलाई अन्त्य गर्ने उद्देश्यअनुसार छोरी जन्माउनेलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको बताइन् । पहिलेभन्दा अहिले धेरै हदसम्म विभेद कम भएको र यसलाई पूर्ण रूपमा अन्त्य गरेपछि मात्र समुन्नत समाजको कल्पना गर्न सक्ने उनको भनाइ थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...