हात्तीले धानबालीमा नोक्सान, वडाध्यक्ष रातभर जाग्राम !

Hatti ko hul

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका बासिन्दा जङ्गली हात्तीको बथान भगाउनका लागि रातभर जाग्राम बस्ने गरेका छन् । पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले पाकेको धान बाली खाएर नोक्सान पुर्याउन थालेपछि उनीहरु चिन्तित भएका हुन् ।

नगरपालिकाको चुरे क्षेत्र फेदीका धान बालीमा हात्तीको बथानले बढी नोक्सानी पुर्याउन थालेको छ । ट्र्याक्टरले ठूलो आवाज निकालेर, आगो बालेर, पटाका पड्काएर, उज्यालो गरेर र होहल्ला गरेर हात्तीको बथान भगाउँदै आएको नगरपालिकाको वडा नं ८ का अध्यक्ष बहादुरसिंह महराले जानकारी दिए ।

'दर्जनौँको सङ्ख्यामा साँझ नपर्दै खेतबारीमा हात्तीको बथान पस्ने गरेको छ', उनले भने, 'स्थानीय बासिन्दा हात्ती भगाउनका लागि एक हप्तादेखि राति सुत्न पाएका छैनन् । स्थानीयवासीले हात्ती धपाउन रातमा पालैपालो पहरा दिने गरेका छन् ।'

वडाध्यक्ष महराका अनुसार जङ्गली हात्तीले स्थानीय किसानको छ बिघा बढी जग्गामा लगाएको धान बाली खाएर सखाप पारिसकेको छ । बेलडाँडी, पारिफाँटा, पिल्लरीफाँटा, कसरौल, गर्जुमनी, खजुवा, पिपलाडी लगायतका क्षेत्रमा हात्तीले बढी क्षति पुर्याएको हो ।

साँझपख कुन ठाउँमा हात्ती आउन थालेका छन् । त्यसबारे एक गाउँका बासिन्दाले अर्को गाउँका बासिन्दालाई जानकारी दिइ सजग बनाउने कार्यसमेत गर्दै आएका छन् । त्यहीअनुसार सतर्कता अपनाइ हात्तीलाई भगाउने गरिएको स्थानीयवासी मदन धामीले बताए । उनका अनुसार हात्तीकै डरले धेरै किसानले पाक्न नपाउँदै धान बाली काटेर चुट्ने कार्यसमेत गरेका छन् । हात्तीको बथान विगत सात वर्षदेखि निरन्तररूपमा यस क्षेत्रमा आउने गरेको छ ।

बथानले खेतमा लगाएको धान बालीसँगै घरभित्र राखेको अन्न खाने र घर नै भत्काइदिने गरेकाले स्थानीय बासिन्दा निकै त्रसित भएका छन् । दुई वर्षअघि मात्रै नगरपालिकाको वडा नं १ बन्साहका एक व्यक्तिको हात्तीको आक्रमणमा परेर ज्यान गएकाे थियाे । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र चुरे फेदीका बस्तीमा हात्तीले बढी क्षति पुर्याउँदै आएको छ ।

यसैगरी हात्तीले बेदकोट र भीमदत्त नगरपालिका तथा लालझाडी गाउँपालिकाका किसानले खेतमा लगाएको धान बालीमा समेत नोक्सान पुर्याउँदै आएको छ । हात्ती भगाउनकै लागि सुरक्षा निकायसमेत परिचालन हुने गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...