कांग्रेसद्वारा थप तीन जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक
काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । पार्टीले मङ्गलबार राति धनुषा, सर्लाही र कैलालीको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको हो ।
केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार अब चार जिल्लाको मात्र क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न बाँकी छ । कांग्रेसले यसअघि क्रियाशील सदस्यताको विवरण सार्वजनिक भएका जिल्लामा वडा अधिवेशन सम्पन्न गरी ती जिल्लामा गत शनिबारदेखि गाउँनगर अधिवेशन प्रारम्भ गरिसकेको छ ।
हालसम्म १२ जिल्लामा वडा अधिवेशन गर्न बाँकी रहेको र ती सबै जिल्लाको क्रियाशील सदस्यताको सूची प्राप्त हुनासाथ एकै दिन वडा अधिवेशन प्रारम्भ गरिने उनले बताए । करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफने वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।
पार्टीले यसअघि नै गाउँ-गरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन(एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको थियो । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।
प्रतिकृया दिनुहोस