यी नरभक्षी कसाई, जसले मानिसको मासु खान्थे
काठमाडौं । मासु काट्ने कसाइको कामको आडमा मानिस मारेर मानिसको मासु खाने एक नरभक्षी कसाइको पर्दाफाश भएको छ । ती व्यक्तिको घरमा ३ हजार ७८७ वटा मानव हड्डी भेटिएका छन् । यी हड्डीहरु १७ जना फरक फरक मानिसहरुको भएको जाँचमा पाइएको छ ।
मेक्सिकोका यी नरभक्षी कसाइले यी मानिसहरुको अवशेष आफ्नो घरमा जमिनमा गाडेका थिए । उनी पेशाले कसाइको काम गर्थे तर मौका पाउनासाथ मानिसको हत्या गर्थे ।
यी आरोपी सिरियल किलरको नाम आन्द्रेस भएको बताइएको छ । द सनको रिपोर्टअनुसार नरभक्षी आन्द्रेसको घरको कंक्रिटको भुइँमुनि गाडिएको अवस्थामा यी हड्डीहरु भेटिएका हुन् । अधिकारीहरुका अनुसार हड्डीका टुक्राहरुको आश्चर्यजनक संख्याले गाड्ने बेला लाशहरुलाई साना साना टुक्रामा काटिएको खुलासा गरेका छन् । ७२ वर्षका यी पूर्व कसाइ नरभक्षी सिरियल किलर भएको आशंका थियो ।
आरोपीले अदालतमा बताएअनुसार उनले एक पीडित महिलाको अनुहारको छाला समेत उक्काएर फालिदिएका थिए किनकि ती महिला निकै सुन्दर थिइन् । आन्द्रेसले मेक्सिकोमा ४ घण्टाको सुनुवाइको क्रममा बिरामी भएको दावी पनि गरेका थिए । उनलाई अदालतमा आधिकारिक रुपमा एक सेवारत पुलिस अधिकारीकी पत्नीको हत्याको अभियोगमा पेश गरिएको थियो ।
मेक्सिको सिटीको बाहिरी क्षेत्रमा रहेको उनको घरको उत्खनन गर्ने जाँचकर्ताहरुले शनिबार बताएअनुसार उनीहरुले अहिलेसम्म ३ हजार ७८७ हड्डीका टुक्रा भेटेका छन् जो १७ अलग अलग पीडितका हुन् । १७ मेदेखि गरिएको उत्खननमा अधिकारीहरुले त्यो घरको भुइँ खनेका छन् जहाँ आरोपी बस्थे । अधिकारीहरुले अब त्यही भवनमा भाडामा दिइएका अन्य कोठाहरुको भुइँ पनि खन्ने योजना बनाइरहेका छन् ।
वर्षौं पहिले हराएका मानिसहरुका परिचय पत्र र अन्य सामान कवाडीले भरिएको घरमा पाइएका छन् । यसबाट हत्या कैयौं वर्षदेखि भइरहेको खुलासा भएको छ । यी सिरियल किलरलाई अहिले पक्राउ गर्नुको कारण उनको पछिल्लो शिकार बहालवाला पुलिस कमाण्डरकी पत्नी थिइन् जसलाई उनले व्यक्तिगत रुपमा चिन्थे ।
रिपोर्टका अनुसार पुलिस अधिकारीकी पत्नी आन्द्रेससँग सपिङ गएकी थिइन् र त्यही क्रममा हराएकी थिइन् त्यसैले सीधा शंका आन्द्रेसमाथि नै गएको थियो । एजेन्सी
प्रतिकृया दिनुहोस