सरकार र डा.केसीको टोलीबीच आज वार्ता हुँदै
काठमाडौं । सरकारी वार्ता टोली र डा. गोविन्द केसीका तर्फबाट बनेको टोलीबीच आज छलफल हुने भएको छ । डा.केसी विभिन्न ६ बुँदे माग राख्दै २५ दिनदेखि आमरण अनसनमा छन् । डा. केसीको अनसनप्रति वेवास्ता गर्दै आएको सरकारले सर्वत्र दवाव भएपछि बुधबार २४औं दिनमा तीन सदस्यीय वार्ता समिति बनाएको हो ।
सरकारले शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको अध्यक्षतामा तीन सदस्यीय वार्ता टोली बनाएको हो । उक्त वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा रहेका छन् ।
सरकारले वार्ता टोली बनाएको केही समयपछि बुधबार साँझ नै डा. केसीका तर्फबाट वार्ता गर्ने समिति बनेको छ । डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको छ ।
वार्ता टोलीका सदस्यहरूमा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा। अञ्जनीकुमार झा, संघका वर्तमान अध्यक्ष डा लोचन कार्की र ओम प्रकाश अर्याल रहेका छन् । दुवै तर्फबाट सदस्यहरुले बिहीबार डा. केसीका मागमा बुँदागत रुपमा छलफल गर्ने बताइएको छ ।
प्रतिकृया दिनुहोस