बिस्का जात्रा : दायाँबायाँका घरमा ठोक्किँदा रथ क्षतिग्रस्त
भक्तपुर । प्रसिद्ध बिस्का जात्राको प्रमुख आकर्षण प्यागोडा शैलीका भैरवनाथको तीनतले रथ बिस्का जात्राको पहिलो दिनमै भैरवनाथको रथ क्षतिग्रस्त भएको छ ।
बुधबार जात्राको पहिलो दिन भक्तपुर नपा–५ टौमढीबाट तानिएको रथ भक्तपुर ९ दत्तात्रयसम्म पुर्याइएको थियो । एकोहोरो दत्तात्रयतिर जबरजस्ती तानिँदा रथ दायाँबायाँका घरहरुमा ठोक्किएको थियो ।
रथ घरहरुमा ठोक्किदा तीनतले रथका सम्पूर्ण छाना बिग्रिएर उछिट्टिएका छन् भने छाना अड्याउन राखिएका टुँडालहरु झरेका छन् । रथको पहिलो तलाको चारैतिर राखिएका काठका चुकुल खुस्किएर उछिट्टिएका छन् ।
बिहीबार दत्तात्रयबाट टौमढीतर्फ तानिँदा रथ इनाचोस्थित एक घरमा ठोक्किएको थियो । जसले गर्दा रथका छाना खसेको भैरव नाइके माइला छुकांले बताए ।
जात्राको परम्पराअनुसार बुधबार पहिलो दिन नै भैरवनाथको रथ गःहिटी पु¥याउनुपर्ने थियो । तर, बुधबार राती इनाचोस्थित एक घरमा रथ ठोक्किएपछि तान्न गाह्रो भएको थियो । जसले गर्दा रातभर इनाचोमै रहेको रथ बिहीबार बिहान मात्रै तानिएको छ । बिहीबार बिहान करिब नौ बजेमात्रै रथ गःहिटी पुगेको थियो ।
गुठी संस्थान भक्तपुरले बिहीबार र शुक्रबार जात्रा नहुने भएकाले ती दुई दिन मर्मत गरेर ३० गतेको लागि पुनः रथ सग्लो बनाइने जनाएको छ । संस्थानले करिब दुई लाख रुपैयाँ खर्च गरेर यस वर्षको लागि रथ बनाएको थियो । रथ चुकुलयुक्त तयारी काठ जोडजाड गरेर बनाइँदै आएको छ ।
अघिल्ला वर्षहरुमा रथमा अनधिकृत व्यक्तिहरु धेरै बसेको निहुँ निकालेर रथ तान्ने जात्रालुहरुले उनीहरुमाथि ढुंगामुढा गरेका थिए । तर, यस वर्ष ढुंगामुढा गर्नेजस्ता कुनै अप्रिय घटना भने भएन । जात्रा व्यवस्थापन प्रचलनअनुसार भैरव नाइके, गुठीयार र खान्कीहरु रथका चारै दिशामा चारचारजना गरी १६ जनामात्रै बस्ने व्यवस्था छ । तर, बुधबार रथभरि अनधिकृत व्यक्तिहरु सवार थिए ।
अघिल्ला वर्षहरुमा रथबाटै खसेर धेरै जात्रालुहरु घाइते भएका थिए । जसमध्ये केहीले ज्यानै गुमाएका थिए । तैपनि अनधिकृत व्यक्तिहरु रथमा बस्न छाडेका छैनन् ।
प्रतिकृया दिनुहोस