चैते दशैं सुरु, बिहानैदेखि शक्तिपीठमा लाग्यो भक्तजनको भीड
काठमाडौं । शनिबारदेखि चैत्र दशैं सुरु भएको छ । चैत्र शुक्ल प्रतिपदाका दिनदेखि चैते दशैं सुरु हुन्छ ।
चैत्र शुक्ल अष्टमी र नवमीलाई भने देशभर विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीलाई चैते दशैँ र नवमीलाई रामनवमी पर्वका रुपमा मनाउने गरिएको हो । यस वर्ष चैत ३० गते अष्टमी र वैशाख १ गते नव वर्षका दिन रामनवमी पर्व परेको छ ।
नवरात्र सुरु भएको अवसरमा शनिबार बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, सुन्दरीमाईलगायत पीठमा भक्तजनको भिड लागेको छ ।
यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने विश्वास छ ।
यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दसैं अर्थात् बडादसैं जति भव्यरुपमा नमनाइए पनि चैते दसैंमा देशभरका शक्तिपीठमा भक्तजनको भिड लाग्ने गर्छ ।
वैदिक सनातन धर्मावलम्बीले घरघरमा शक्तिको उपासना स्वरुप देवीको पूजाआजा गर्नुका साथै देवीभागवत, दुर्गा सप्तशती चण्डी, देवी स्तोत्रलगायत देवीको महिमा गाइएको ग्रन्थ पाठ गरिन्छ ।
वर्षमा चार नवरात्र पर्छन् । चैत, असार, आश्विन र पुस महिनाको शुक्ल पक्षमा नवरात्र पर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । चार नवरात्रमध्ये चैत्र र आश्विनका नवरात्रलाई विशेष रुपमा मनाउने गरिएको छ । असार र पुसका दुई नवरात्रमा भने साधना मात्र गरिन्छ । यी दुई नवरात्रलाई सुषुप्त दसैं भन्ने गरिएको छ ।
प्रतिकृया दिनुहोस