शंकरनाथ रिमाल, जसले राष्ट्रिय झण्डाको डिजाइन गरे
काठमाडौं । विसं २०१९ सम्म नेपालको झन्डामा एकरूपता नहुँदा मानिसहरू मनलाग्दी ढंगले झन्डा बनाउँथे । सरकारी कार्यालयमै पनि फरकफरक किसिमका झन्डा फरफराइरहेका हुन्थे । यतिसम्म की चन्द्रमा र सूर्यमा नाक, आँखा र मुख राखेर झुन्ड्याएका झन्डा पनि देखिन्थे ।
झण्डालाई निश्चितआकार दिनुपर्छ भनेर त्यही वर्ष मात्र सरकारका पदाधिकारीबीच छलफल भयो । जसमा सहभागी थिए इन्जिनियर शंकरनाथ रिमाल पनि । झण्डाको आकार उनकै डिजाइनमा बन्यो र ‘नेपालको संविधान ०१९’मा समावेश पनि भयो ।
‘त्यसबेला नेपालको झण्डालाई पौराणिक रूपमा बनाउनुपर्छ भनेर हामीबीच सल्लाह भयो’ रिमाल भन्छन्, ‘त्यसैअनुरूप नै डिजाइन दिने काम गरेँ ।’ त्यसयता नै झण्डामा कस्तो रङको प्रयोग गर्ने, आकार कति राख्ने र झण्डामा के–के राख्ने भन्ने शास्त्रकै नियम पछ्याइएको पछ्याइएको छ ।
झण्डाका विषयमा सबैको फरक–फरक मतथियो । अन्ततः झण्डालाई हालको आकारमा राख्ने र त्यसको माथि चन्द्र अनि तल सूर्यको चिन्ह राख्ने निर्णय भयो ।
रिमाल भन्छन्, ‘झण्डाको किनारामा अंकित निलो रंगको अर्थ शान्तिको प्रतीक हो भने सिम्रिक रंग नेपालको राष्ट्रिय रंग हो ।’ उनले गरेका महत्वपूर्ण काम मध्ये नेपालको झण्डाको डिजाइन पनि एक हो । उनकै डिजाइन ‘नेपालको संविधान ०१९’ मा समावेश भयो ।
दुईवटा त्रिकोण मिलेर बनेको नेपालको झण्डा विश्वमै पृथक छ । झण्डामा अंकित चन्द्रले शितलता र सूर्यले सूर्य जस्तै तेज भन्ने इंकित गर्छ । कसैले पनि राष्ट्रिय झण्डाको महिमा भुल्न सक्दैनन् । हरेक नेपालीले राष्ट्रिय झण्डासँग शीर झुकाउँछन् । त्यो राष्ट्रिय झण्डाप्रतिको श्रद्धा हो ।
बने इन्जिनियर शास्त्रीका सन्तान
भारतमा स्ट्रक्चरल इन्जिनियरिङ पढ्दा पढ्दै नेपालको सरकारी सेवामा लाग्ने अवसर पाएका उनले हालसम्म थुप्रै महत्वपूर्ण संरचनाको डिजाइन गर्ने अवसर पाइसकेका छन् ।
विसं १९९१ सालमा काठमाडौंमा जन्मिएका हुन् रिमाल । उनका जिजुबुबा विष्णुनाथ शास्त्री निकै ठूला गुरु (शिक्षक) तथा दार्शनिक थिए भने हजुरबुबा सरदार कविराज शिवनाथले पनि शास्त्री उत्तीर्ण गरी आयुर्वेद विषय पढेका थिए । त्यही भएर पनि शंकरनाथले दरवार हाइस्कुलमा पढ्ने मौका पाएका थिए ।
त्यतिबेला रिमाल परिवारमा नपढ्नुलाई राम्रो मानिन्न थियो । त्यतिमात्रै होइन, जेठो सन्तानले अनिवार्य संस्कृत पढ्नु पथ्र्याे । सोहीअनुरूप उनी पनि संस्कृत विषय पढ्न थाले । त्यतिबेला उनका दुई दाजुभाई अंग्रेजी पढिरहेका थिए । पछि उनले पनि अंग्रेजी पढ्न थाले ।
त्यतिबेला राजाका नजिक भएर काम गर्नेका छोराछोरी र ब्राह्मणका छोराछोरीले मात्र पढ्न पाउँथे । सामान्य व्यक्तिका छोराछोरीले पढ्न सम्भव थिएन । जति बेला उनले पढ्न सुरु गरे, त्यतिबेला दरबार हाइस्कुलभन्दा अरू कुनै विद्यालय नै थिएन ।
कक्षा १० सम्मको पढाइ सकेपछि त्यतिबेला उच्चशिक्षा हासिल गर्न चाहेमा अन्य देशमा नै जानुपर्ने बाध्यता थियो । ०११ सालमा उनले प्रवेशिका उत्तीर्ण गरेपछि अमेरिका गई उच्चशिक्षा हासिल गर्ने योजना बनाएका थिए । तर दोस्रो विश्व युद्ध चलिरहेकाले उनलाई सो अवसर मिलेन । त्यतिबेला नेपाली विद्यार्थी सरकारी खर्चमा बाहेक निजी खर्च गरी विदेशमा पढ्न जान सक्दैनथे ।
दोस्रो विश्वयुद्ध सकिएसँगै अमेरिकाले सबै देशका विद्यार्थीलाई थुप्रै छात्रवृत्ति दिँदा रिमालले पनि पाए । त्यतिबेला महिलाले भने पढ्ने चलन थिएन । पुरुषको दाँजोमा महिलाले भर्खर मात्र पढ्ने चलनको विकास भएको थियो । ‘नेपालमा इन्जिनियरको खाँचो भएकाले पढाई नसकिए पनि मैले सरकारी सेवामा काम गर्ने अवसर पाएँ,’ रिमालले भने ।
९ वर्षमा राजीनामा स्वीकृत
रिमालले ०१३ सालमा टंकप्रसाद आचार्य प्रधानमन्त्री हुँदा उनी सरकारी सेवामा प्रवेश गरे । उनले सरकारी सेवामा प्रवेश गर्दा सर्वोच्च अदालतको भवनको जग हाल्ने काम भइरहेको थियो ।
भवनको डिजाइन अर्कै इन्जिनयिरले गरे पनि रिमालले पनि सहयोग गरे । ‘त्यतिबेलाका ठेकेदार हामीभन्दा बढी निपूर्ण हुन्थे,’ उनले भने, ‘हामीले काम गर्दा इन्जिनियरभन्दा त्यहाँका ठेकेदार निकै निपूर्ण हुने हुँदा उनीहरुले काम गर्न सहयोग गर्थे ।’
२०१५ सालमा प्रधानमन्त्री फेरिने वित्तिकै सरकारी नियुक्तिमा काम गर्नेलाई अवकास दिइयो । त्यसमा उनी पनि परे । त्यसपछि उनी पढाई सकेर काम सिक्न जर्मनी गए । ०१६ को अन्त्यतिर उनी नेपाल फर्किए । त्यसपछि पुनःनियुक्ति लिई राजदरबारको निर्माणको काम सुरु गरे ।
०१७ सालको असार महिनामा उनलाई पुनः घटुवा गरियो । घटुवा भएपछि उनले ०१८ सालमा नै राजीनामा दिए । तर दरबारको काम नसकिएकाले स्वीकृत भने हुन सकेन । पछि ०२७ सालमा स्वीकृत भयो ।
यस्तो छ उनले गरेका काम
उनले लुम्बिनी क्षेत्रको ज्यामितीय अध्ययन गरी ‘लुम्बिनी चक्र’ पुस्तक पनि प्रकाशन गरेका छन् । सरकारी काममा लाग्दा उनले थुप्रै व्यावसायिक डिजाइन गरे । उनले बनाएका डिजाइनमध्ये बागबजारमा रहेको अंगुुरबाबा जोशीको खुट्टेघर, अहिले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा राखिएको उड्ने घर निकै चर्चित छन् ।
सिंहदबारभित्र रहेको पहिलेको परराष्ट्र मन्त्रालयको भवन, देवघाटको सन्यास आश्रम, लुम्बिनीको कल्चरल बिल्डिङ, पशुपतिको यज्ञशाला र उन्मत्त भैरवको मन्दिर, चन्द्रागिरीको भालेश्वर मन्दिर, जनकपुर चुरोट कारखाना, जनकपुर रामानन्दचोकको ढोका, रेयुकाई भवन (नक्साल काठमाडौं), गोरखा स्मारक (स्याङ्जा) लगायतको डिजाइन उनले नै गरेका थिए ।
हालसम्म उनले सयौँ भवन, मठमन्दिर आदिको डिजाइन गरिसकेका छन् । अहिले पनि उनले डिजाइनको कामलाई निरन्तरता दिँदै आएका छन् । उनले सिंहदरबारपछि नेपालमा नै तेस्रोपटक सन् १९९५ डा. प्रकाशचन्द्र लोहनी अर्थमन्त्री हुँदा कम्प्युटर भित्र्याएका थिए, जुन राजपत्रमा समेत उल्लेख छ ।
बन्यो टिकाउँ पूर्वाधार
नेपाली आधुनिक कलाबारे लैनसिंह वाङ्देलसँग सिकेका रिमाल हाल नेपाल कला परिषद्का महासचिव छन् । इन्जिनियरिङ, वास्तुकला र चित्रकलाका विधामा पोख्त रिमाल नेपालका विभिन्न जातिका परम्परागत गरगहनाको अध्ययन नभएकामा चिन्ता व्यक्त गरे ।
उनका अनुसार डिजाइन गर्नु भनेको कुनै संरचना बनाउनुअघि कोर्नु मात्र नभई त्यहाँको सामाजिक, आर्थिक सबै पक्षलाई ध्यान दिनुपर्छ । घर बनाउँदा एउटा इन्जिनियर मात्र नभई ठेकेदारसमेत बन्नुपर्ने उनी बताउँछन् ।
उनले डिजाइन गरेका पूर्वाधार अहिलेसम्म पनि उत्तिकै टिकाउँ छन् । ‘कुनै पनि घर भूकम्प प्रतिरोधी हुनैपर्छ, सुन्तलाको रङ पहेँलो हुँदैमा थप पैसा तिर्नैपर्छ भन्ने हुँदैन’, उनी थप्छन्, ‘घर बनाउँदा घरभित्र बस्ने मान्छेको सुरक्षा पहिलो प्राथमिकता हो ।’
रिमालले टीकापुर सहरको समेत डिजाइन गरेका थिए । सहर कस्तो बनाउने भन्ने सरकारले डिजाइन गरेर नै अघि बढ्नुपर्ने उनी बताउँछन् । सहरको डिजाइनभित्र त्यहाँको शैक्षिक स्थिति, विद्यालय–क्याम्पस, बैंक, आर्थिक क्षेत्र, सडक, बिजुली लगायतका पूर्वाधारको निर्माण, रोजगारीको अवस्था आदि सम्पूर्ण पक्ष समेट्नुपर्ने उनको मान्यता छ ।
प्रतिकृया दिनुहोस