कोमल वली भन्छिन्, म पनि अनलर्निङको प्रक्रियामा छु
मेरा प्रिय समर्थक, मेरा अग्रज र मलाई सधैं हौसला दिनु हुने तपाईंहरु सबैलाई नमस्कार ।
म विश्वस्त छु, अहिले राष्ट्रिय सभा सदस्यको हैसियतले मैले मेरै समाजका समस्याहरुलाई त्यहाँ आवाज उठाउने प्रयास गरिरहेको कुरा तपाईंहरुले बुझ्नु भएकै छ । मलाई विश्वास छ, परिस्कृत र समुन्नत समाज, विकसित र शिक्षित समाज बनाउन मेरा कदममा तपाईंहरुको पनि साथ हुनेछ ।
हाम्रो समाज विकसित भए हामी सबै खुसी हुन्छौँ, सबैले न्यायको प्रत्याभूति गर्न पाउँछौँ भन्ने मेरो विश्वास छ । यसका लागि हामीले यसअघि पढ्दै आएका, सुन्दै आएका र भन्दै आएका कतिपय प्रसङ्ग अब परिवर्तन गर्नु पर्ने भएको छ । यो प्रक्रिया भनेको अनलर्निङ अर्थात् पुनर्सिकाइको प्रक्रिया हो । म पनि अनलर्निङको प्रक्रियामा छु, हाम्रो समाज पनि यही प्रक्रियामा छ । हामीले यो प्रक्रिया अझ छिटो उपलब्धिमूलक बनाउनुपर्ने आवश्यकता छ, जसका कारण हिजोका कुविचार, कुव्याख्या तथा नमिठा शब्दहरु, भनाइहरु, उखानहरु, उत्पीडनहरु, समस्याहरु, सोचहरु, विचारहरु, मानसिकताहरु परिवर्तन हुँदै जाउन् ।
यो सन्दर्भ पछिल्लो समय मैले कान्तिपुर टेलिभिजनकाे एउटा कार्यक्रममा दिएको अभिव्यक्तिबाट सिर्जित बहस, तरङ्गलाई जोड्न निकालेकी हुँ । एउटा कार्यक्रममा मलाई जीवित हुँदा नै केही राम्रो कर्म गर्न मन भएको तर मृत्युपछिको सम्मानलाई विश्वास नगर्ने भन्ने मेरो भावना अभिव्यक्त गर्न मैले एउटा उखान प्रयोग गरेकी थिएँ ।
नेपाली समाजमा प्रचलित त्यो उखान मैले अपर्झट भनेकी थिएँ, त्यो प्रसङ्गमा जोडेकी थिएँ । मेरो मस्तिष्कमा तत्कालीन समयमा यसले पुर्याउने हानी, यसले मेरै समाजको एउटा समुदायलाई चोट पुर्याउन सक्छ भन्ने कल्पनासमेत थिएन । यो त विविध सन्दर्भमा उखान प्रयोग गर्ने बानीको आकस्मिकता मात्र थियो । त्यो उखानको सन्दर्भ मैले योजना बनाएर गरेकी थिइनँ, आकस्मिक प्रयोग थियो त्यो ।
विडम्बना ! त्यो आकस्मिक प्रयोगलाई अहिले एउटा ‘इस्यु’ बनाएर ममाथि सामाजिक सन्जालमा प्रहार भइरहेको रहेछ । जसले मैले भनेका शब्दहरुबाट आफ्नो मन दुखेको बताउनु भएको छ, उहाँहरुबाटै ममाथि त्योभन्दा बढी असभ्य शब्द प्रयोग भएको सामाजिक सन्जालमा भेटेकी छु । यसबाट मैले निष्कर्ष निकालेकी छु– हाम्रो समाजमा अनलर्निङको प्रक्रिया अझ आवश्यक छ, अझ प्रभावकारी रुपमा अगाडि बढ्नु पर्ने हुन्छ ।
यसबीच मेरो भनाइका कारण आफूलाई चोट पुगेको ठान्नुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई अनुरोध गर्न चाहन्छु– मन नदुखाउनुहोस्, कोमल वली कसैका लागि छुरा बन्ने सोच्दिनँ र म नेपालका मात्र होइन, विश्वका सबै जाति, समुदायप्रति उच्च सम्मान भाव राख्छु, राख्नेछु । त्यसैले त्यो कार्यक्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउन प्रयोग गरेकी थिइनँ । त्यो मैले प्रयोग गरेको उखानका शब्दका कारण कसैलाई चोट पुगेको भए क्षमा याचना गर्छु ।
प्रतिकृया दिनुहोस